‘धार्मिक, पर्यटकीय स्थलको विकास एवं प्रचारप्रसार गरिनुपर्छ’ – अध्यक्ष ओली

धादिङ, १७ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपूरा सुन्दरी आफैँमा पवित्र पर्यटकीय गन्तव्य भएकाले यस ठाउँको विकास गरिनुपर्नेमा जोड दिनुभएकाे छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ मा आयोजित प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको उद्घाटन गर्नुहुँदै उहाँले धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व भएका स्थलको विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयाे। अध्यक्ष ओलीले एमालेको नेतृत्वमा मात्रै बुढीगण्डकी जलविद्युत् आयोजनाको कामअघि बढ्ने पनि दावी गर्नुभयाे ।

अहिलेको सरकारले बुढीगण्डकी आयोजनालाई चासो नदिएको उहाँले बताउनुभयाे । आफु प्रधानमन्त्रीबाट हटेपछि बुढिगण्डकी जलविद्युत् परियोजनाको अघि बढेको काम पनि रोकिएको उहाँको भनाइ थियो ।

कात्तिक १७ गते देखि २७ गतेसम्म सल्यानटारमा हुने मेला हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा व्यापार मेला शुरु भएको हो । मेलामा ९० कक्ष रहेको छ । ५० हजारले अवलोकन गर्ने र १० करोडको कारोबार हुने अनुमान गरिएको आयोजक समितिका संयोजक लक्ष्मीकिशोर श्रेष्ठले जानकारी दिनुभयाे ।

मेलाको आकर्षको रुपमा स्थानीय उत्पादन, सल्यानटारको मास, झुसे, तिल, घैया लगायतका प्रदर्शनी र बिक्री गरिने संयोजक श्रेष्ठ बताउनुभयाे।

कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेसिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरीपालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपका बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहेको छ ।

 

सम्बन्धित समाचारहरू: