मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान

बागलुङ, ७ मंसिर । आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् ।

सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठूलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ ।

जन्मजात वा अन्य कारणबाट मुटुमा समस्या देखिएको सानै उमेरमा पत्ता लगाउनसके मुटुलाई बचाउन सकिने भन्दै देशभरका बालबालिकाको मुटु परीक्षण अभियान चलाइएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताउनुभयो । मुटु जोगाउन खानपान, आनीबानीमा सुधार हुनुपर्ने बताउँदै उहाँले मुटु रोगसम्बन्धी सचेतना जगाउन अभियान थालिएको बताउनुभयो ।

“स्वास्थ्यमा समस्या आएपछि मात्रै परीक्षण गर्ने नेपालीको बानी छ । त्यसकारण अन्तिम अवस्थामा मुटु बचाउन नसक्दा धेरैको ज्यान गएको छ । मुटुरोग चिकित्सकले मुटुको चाल सुनेरै मुटुको अवस्था बुझ्न सकिन्छ”, डा रेग्मीले भन्नुभयो, “मुटुको धड्कन सुन्दासाथ मुटुको केही समस्या भए नभएको पत्ता लाग्छ । शङ्कास्पद बिरामीलाई मात्रै मुटुको इको गरिन्छ, इकोमार्फत मुटुको अवस्था कस्तो छ भनेपछि बल्ल समस्यादेखि उपचारतर्फ लागिन्छ, समयमै मुटुको समस्या पत्ता लगाउनसके उपचार सम्भव छ ।”

नेपालका ४० जिल्लामा उक्त अभियान पुगिसकेको बताउँदै हालसम्म दुई लाख बालबालिकाको मुटु परीक्षण गरिसकेको रेग्मीको भनाइ । बालबालिकाको मुटुमा प्वाल पर्ने समस्या धेरै हुने र बर्सेनि तीन हजार बालबालिका मुटुको समस्याबाट मृत्यु भइरहेको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत बागलुङको कालिका कन्या मन्दिर माध्यामिक विद्यालयका तीन सय १० बालबालिकाको मुटु परीक्षण गरिएको प्रतिष्ठान बागलुङ शाखाका अध्यक्ष जगदिश चन्द्र उपाध्यायले बताउनुभयो । बालबालिकाले पत्रु खाना नखाने, बयस्कले चुरोट, रक्सी नखाने र मधुमेह तथा कोलेस्टेरोल बढ्न नदिए मुटु जोगाउन सकिने चिकित्सकको सुझाव छ ।

शिविरका लागि रोटरी क्लब अफ पाटनलेसमेत सहयोग गरेको थियो । परीक्षण गरेका अधिकांशको मुटु स्वास्थ्य भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल हृदयरोग प्रतिष्ठान केन्द्रीय समितिका पूर्वसभापति मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताउनुभयो र।

रेग्मी नेतृत्वमा मुटरोग विशेषज्ञ डा प्रेमराज वैद्य र डा उर्मिला शाक्यसहित २० स्वास्थ्यकर्मी सहभागि बागलुङमा आएका थिए । परीक्षण गरेका बालबालिकामध्ये १० जनालाई थप उपचार गर्नका लागि सुझाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *