राष्ट्रियसभाकाे निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं, १३ मंसिर । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयाे ।

सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै हुनुहुन्छ ।

विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदै छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपाल इञ्जिनीयरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।