भक्तपुरमा नवरात्रि मेला सुरु, नौ दिनसम्म शक्तिपीठमा रात्री जात्रा

भक्तपुर, २६ असोज । घटस्थापनासँगै भक्तपुरका विभिन्न शक्तिपीठमा लाग्ने परम्परागत नवरात्रि मेला सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाको रातिदेखि ब्रह्मायणी मन्दिरमा सुरु भएको मेलामा रातभरि दर्शनार्थीको घुइँचो लागेको छ।

भक्तपुरका नौवटै शक्ति पीठमा नौ दिनसम्म रातिको समयमा नवरात्रि मेला लाग्ने परम्परा छ। स्थानीयवासी बाँसुरी, धिमे लगायतका परम्परागत बाजागाजा बजाउँदै टोलटोलबाट शक्तिपीठ पुग्ने, पूजा गर्ने र मेला भर्ने गर्दछन्।

मेलाको पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी र नवौँ दिन त्रिपुरासुन्दरीमा मेला लाग्ने गर्दछ। विजयादशमीका दिन पुनः ब्रह्मायणी मन्दिरमा भव्य मेला लागेपछि दसैँको नवरात्रि जात्रा समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद् प्रकाशचन्द्र धौभडेलले जानकारी दिनुभयो।

नवमीमा खमेय जात्रा, ब्रह्मायणीमा ठूलो मेला
नवमीको राति महिषासुर दैत्यको प्रतीकका रूपमा खमेय जात्रा मनाइन्छ। नवदुर्गा मन्दिरमा मदिरा सेवन गराई पूजा गरिएको खमेय अर्थात् राँगोलाई दौडाउँदै ब्रह्मायणी मन्दिर पुर्‍याएर बलि दिने परम्परा छ।

नवमीको रातभरि र दशमीको दिनभरि ब्रह्मायणी मन्दिरमा हजारौँ दर्शनार्थीको सहभागितामा ठूलो मेला लाग्ने गर्दछ।

विजयादशमीको भोलिपल्ट राति भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडासहित पायो जात्रा अर्थात् खड्ग जात्रा निकालेर नगर परिक्रमा गरिन्छ। स्थानीयवासीले यसलाई ‘पायो न्ह्याकेगू जात्रा’ पनि भन्ने गर्दछन्।

नवदुर्गाको उत्पत्तिसँग जोडिएको जात्रा
संस्कृतिविद् धौभडेलका अनुसार दसैँमा मनाइने यी जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित छन्। नवदुर्गाका नौ स्वरूप जीवित हुने परम्पराका रूपमा नवरात्रि जात्रा चलिआएको उहाँको भनाइ छ।

दसैँ सुरु भएसँगै यसअघि मृत्युवरण गरेका नवदुर्गा गण पुनः जीवित हुने विश्वास रहेको उहाँले बताउनुभयो। यो जात्रा असत्यमाथि सत्यको विजयका रूपमा मनाइने उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *