अवरोध हटेपछि अन्नपूर्ण चक्रीय पदमार्गमा फर्कियो रौनक: दैनिक दुई सयसम्म पर्यटक भित्रिँदै

लमजुङ, २६ असोज । असोज दोस्रो साताको अविरल वर्षा, बाढीपहिरो र उच्च हिमाली क्षेत्रको हिमपातका कारण केही समय पूर्ण रूपमा सुस्ताएको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग  मा अहिले फेरि पर्यटकीय चहलपहल र रौनक फर्किन थालेको छ। प्रतिकूल मौसमका कारण अवरुद्ध बनेका सडक तथा पदमार्गहरू खुलाइएसँगै प्रसिद्ध थोरङ्ला पास (५,४१६ मिटर) जाने बाटो सहज भएपछि पदमार्गमा विदेशी पर्यटकहरूको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो।

आठ दिनमा १४ सयभन्दा बढी पर्यटक भित्रिए

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार असोजको सुरुवाती साता प्रतिकूल मौसमका कारण दैनिक एक–दुई जनामा सीमित बनेको पर्यटक आगमन अहिले ह्वात्तै बढेर दैनिक १५० देखि २०० जना को हाराहारीमा पुगेको छ।

सूचना केन्द्रको तथ्याङ्कअनुसार असोज १८ देखि २५ गतेसम्मको मात्रै आठ दिनको अवधिमा १,४४७ जना विदेशी पर्यटक धारापानी नाका भएर भित्रिएका छन्। जसमा ८८७ जना पुरुष र ५६० जना महिला रहेका छन्। यस अवधिमा सबैभन्दा बढी इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ जना पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका छन्।

गत वर्ष मुख्य पर्यटकीय याममा दैनिक ४०० देखि ५०० सम्म पर्यटक आउने गरेकामा यस वर्ष प्राकृतिक प्रकोपका कारण केही असर परे पनि मौसम खुल्दै जाँदा आवागमनमा तीव्र सुधार आएको छ।

स्थानीय व्यवसायीमा नयाँ आशा र राहत

पदमार्गमा पर्यटकको आगमन पुनः सुरु भएपछि लमजुङ र मनाङका स्थानीय होटल तथा पर्यटन व्यवसायीहरूको मुहारमा खुसी छाएको छ। बाढीपहिरो र बन्द सडकका कारण केही समय शून्यप्रायः बनेको व्यवसाय अहिले तंग्रिन थालेको छ।

मर्स्याङ्दी गाउँपालिका–४, जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले केही दिनअघिसम्म व्यवसाय पूर्ण रूपमा ठप्प भए पनि अहिले पर्यटकहरू आउन थालेपछि दैनिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको बताए। गत वर्षको मुख्य सिजनमा दैनिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म कारोबार गर्ने गरेका व्यवसायीहरू सडक र पदमार्ग पूर्ण रूपमा सहज भए पर्यटकको सङ्ख्या अझै उकालो लाग्नेमा विश्वस्त छन्।

हिमाली दृश्य, अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता र स्थानीय संस्कृति तथा आतिथ्यताका कारण अन्नपूर्ण चक्रीय पदमार्ग सधैँ स्वदेशी तथा विदेशी पदयात्रीहरूको पहिलो रोजाइ बन्दै आएको छ। बेँसीसहरबाट सुरु भई मनाङ, थोरङ्ला पास हुँदै मुस्ताङ निस्किने यो पदमार्गले नेपालको हिमाली पर्यटनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *