हराउँदै दसैँका परम्परागत पिङ : घट्दै पर्वको रौनक
परम्परागत पिङ
काठमाडौँ, असोज २६ । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गाउँघरमा चहलपहल बढ्न थालेको छ। रोजगारी तथा अध्ययनका लागि घरबाहिर रहेका नेपाली मान्यजनको हातबाट टीका थाप्न जन्मघर फर्किरहेका छन् । तर, दसैँको उमङ्ग र मौलिक संस्कृतिसँग जोडिएका परम्परागत पिङ भने पछिल्लो समय गाउँघरबाटै हराउँदै जान थालेका छन् ।
कुनै समय दसैँ आउनुभन्दा एक साताअघिदेखि नै गाउँटोलमा लिङ्गे तथा रोटेपिङ बनाउने चटारो हुन्थ्यो। पिङ बनाउन युवा तथा वृद्धवृद्धा जुट्थे भने बालबालिकामा पिङ खेल्ने उत्साह उत्तिकै हुन्थ्यो । अहिले भने फाट्टफुट्ट ठाउँमा मात्रै पिङ देखिन थालेपछि दसैँको परम्परागत रौनकसमेत घट्दै गएको स्थानीय बताउँछन् ।
चार वर्षअघि रोजगारीका लागि भारतको ब्याङ्गलोरबाट फर्किनुभएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकले लामो समयपछि साथीभाइसँग भेट हुँदा रमाइलो लागे पनि मौलिक परम्परा हराउँदै जाँदा दसैँ पहिलेको जस्तो हुन छाडेको बताउनुभयो। चाडपर्वसँग जोडिएका सांस्कृतिक गतिविधिको संरक्षण हुन नसक्दा पर्वको मौलिकता हराउँदै गएको उहाँको भनाइ छ ।
आलिताल गाउँपालिका ४ का जोगराज भट्टका अनुसार पहिले सहरबजारमा हराउँदै गएको पिङ राख्ने चलन अहिले गाउँघरमा समेत घट्दै गएको छ। पिङ राख्ने भएपछि टोलछिमेकका सबैजना भेला हुने र वर्षौँदेखि भेट नभएका साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्ने गरेको उहाँले स्मरण गर्नुभयो ।
“पिङ राख्ने भनेपछि टोलछिमेकका सबैजना जम्मा हुने गर्थ्यौं । वर्षौँसम्म नभेटिएका साथीहरू पनि दसैँमा पिङ खेल्ने बहानामा भेटिन्थे। बालबालिकाको उत्साह पनि उत्तिकै हुन्थ्यो । अहिले पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्छ”, उहाँले भन्नुभयो ।
अमरगढी नगरपालिका ३ की गीताञ्जली साउदले पहिले टोलटोलमा पिङ राखिने गरेकामा अहिले सिङ्गो गाउँमा समेत पिङ भेट्टाउन मुस्किल हुन थालेको बताउनुभयो। सार्वजनिक स्थानको अभाव, मनोरञ्जनका वैकल्पिक माध्यमको विस्तार र सामाजिक सञ्जालमा बढ्दो आकर्षणले परम्परागत पिङ राख्ने चलन प्रभावित भएको उहाँको भनाइ छ ।
अजयमेरु गाउँपालिका ३ का ८५ वर्षीय पदम एडीका अनुसार पहिले दसैँ आउनुभन्दा एक साताअघि नै पिङ बनाउन आवश्यक बाँस, लिङ्गा र डोरीको जोहो गर्ने गरिन्थ्यो। बजारमा डोरी नपाइए बाबियोबाट आफैँ डोरी बाट्ने चलनसमेत थियो । अहिले भने पिङ बनाउने सामग्री जुटाउने र सामूहिक रूपमा पिङ राख्ने परम्परा नै कमजोर हुँदै गएको उहाँले बताउनुभयो ।
परम्परागत लिङ्गेपिङ चार दिशामा बाँस गाडेर बाबियोबाट बनाइएको बलियो डोरीको सहायताले तयार गरिन्थ्यो । पिङको माथिल्लो भागमा सयपत्री र लालुपातेजस्ता फूलले सजाउँदा त्यसले गाउँघरको वातावरणलाई थप आकर्षक बनाउँथ्यो । बालबालिकादेखि वृद्धवृद्धासम्मले पिङ खेल्ने गरे पनि युवायुवतीमा यसको विशेष उत्साह देखिन्थ्यो ।
दसैँको टीकाका दिन कम्तीमा एकपटक पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वाससमेत रहिआएको छ । यसले पिङलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी दसैँको सांस्कृतिक पहिचानसँग पनि जोडेको छ। तर, पछिल्लो समय फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालमा रमाउने प्रवृत्ति बढ्दै जाँदा सामूहिक रूपमा पिङ खेल्ने संस्कृतिप्रति आकर्षण घट्दै गएको स्थानीयको अनुभव छ ।
अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता चाडपर्वमा प्रचलनमा रहेका पिङलगायत मौलिक परम्परा हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । नयाँ पुस्तामा यस्ता परम्पराप्रति चासो घट्दै गएको र सामाजिक सञ्जालमा व्यस्त हुने प्रवृत्ति बढेको उहाँले बताउनुभयो ।
स्थानीयवासीका अनुसार परम्परागत पिङको संरक्षणले चाडपर्वको मौलिकता जोगाउनुका साथै पुस्तान्तरण हुँदै आएको सांस्कृतिक ज्ञान र सामूहिकताको भावना कायम राख्न मद्दत गर्छ। त्यसैले दसैँको रौनकलाई जीवन्त राख्न स्थानीय समुदाय, युवा पुस्ता र सम्बन्धित निकायले यस्ता परम्पराको संरक्षणमा ध्यान दिन आवश्यक छ ।
