तालिममा सहभागीलाई रोजगारी दिने लक्ष्यसहित सिप मेलाको तयारी
सिप मेला
काठमाडौँ, असोज २६ । बेरोजगारी न्यूनीकरण, स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सिप मेलाको तेस्रो संस्करण सञ्चालनको तयारी थालेको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालन गर्दै आएको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी कम्तीमा पाँच हजार जनालाई रोजगारी तथा स्वरोजगारमा जोड्ने लक्ष्य राखेको छ ।
महानगरपालिकाका अनुसार सिप मेलाको दोस्रो संस्करण सम्पन्न हुँदा सात हजार ७८० जनाले तालिम प्राप्त गरिसकेका छन् । तालिम लिएकामध्ये करिब ५० प्रतिशत रोजगारीमा आबद्ध भएका छन् । सीप नभएका युवालाई आधारभूत तालिम दिने र सीप भएका जनशक्तिको दक्षता अभिवृद्धि गरी श्रम बजारको मागअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रमको उद्देश्य छ ।
तेस्रो संस्करणको तयारीका क्रममा महानगरपालिकाको सामाजिक विकास विभागले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। स्थानीय आर्थिक विकास, रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकास र आय वृद्धिका लागि प्राविधिक तथा व्यावसायिक तालिमको प्रभावकारी कार्यान्वयन, अवसर र चुनौतीबारे कार्यक्रममा छलफल गरिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले देशभित्रै आयआर्जनका सम्भावना बढाउन सीपमूलक तथा व्यावसायिक तालिम आवश्यक रहेको बताउनुभयो। स्वदेशमै रोजगारी सिर्जना गरी युवाको मानव पुँजी पलायन रोक्न महानगरपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।
महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार केसीले रोजगारी तथा स्वरोजगारमा जान चाहने युवाका लागि सिप मेला उपयोगी हुने बताउनुभयो। कार्यक्रमलाई अन्य स्थानीय तहले समेत सिकाइका रूपमा ग्रहण गर्न सक्ने गरी सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले काठमाडौँबाहिरका व्यक्ति तथा काठमाडौँको पहिचान र विकासमा योगदान पुर्याइरहेका नागरिकलाई समेत तालिममा अवसर प्रदान गरिने बताउनुभयो । महानगरपालिकाले सीप विकासका अवसरलाई फराकिलो बनाउने गरी कार्यक्रम अघि बढाइरहेको उहाँको भनाइ थियो ।
वडास्तरबाट सञ्चालन भइरहेका तालिमलाई समेत व्यवस्थित, स्तरीकृत र प्रमाणित गरी रोजगारीसँग जोड्नुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन्। वडाध्यक्ष वीरेन्द्र प्रजापती, विमलकुमार होडा, दलबहादुर कार्की र वडा सदस्य रसला तण्डुकारले महानगरपालिकाको केन्द्र र वडाबीच समन्वय बढाएर तालिमको प्रभावकारिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले वडास्तरमा सञ्चालन भएका तालिमबाट उत्पादित जनशक्तिको सीपलाई रोजगारीसँग जोड्ने प्रयास भइरहेको जानकारी दिनुभयो। सामाजिक विकास महाशाखा प्रमुख सन्तु श्रेष्ठले साधारण शिक्षा हासिल गरेका युवालाई प्राविधिक तथा सीपमूलक तालिम प्रदान गरी सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार तालिमलाई व्यवस्थित, सूचीकृत, प्रमाणित र एकीकृत गर्नु अहिलेको आवश्यकता हो ।
अभिमुखीकरण कार्यक्रममा रोजगारी र आय वृद्धिसम्बन्धी पृष्ठभूमि, प्राविधिक तथा व्यावसायिक तालिमको अवधारणा, तालिम सञ्चालनसम्बन्धी कानुनी व्यवस्था र दिगो विकासका लागि सीप विकासको आवश्यकताबारे विभिन्न विज्ञले प्रस्तुति दिएका थिए।
महानगरपालिकाले श्रमिक दिवस २०८१ का अवसरमा टुँडिखेलमा पहिलो सिप मेला सञ्चालन गरेको थियो। उक्त मेलामा तालिमका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए। दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकामा दुई हजार ५७५ जनाले तालिम प्राप्त गरेका थिए। तालिम लिएकामध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर पाएको महानगरपालिकाले जनाएको छ। तालिमपछि पनि रोजगारी वा स्वरोजगारमा आबद्ध हुन नसकेका युवालाई उद्योग तथा कम्पनीसँगको सहकार्यमा काम गर्दै सिक्ने (अन द जब ट्रेनिङ) अवसरसमेत उपलब्ध गराइएको थियो।
दोस्रो संस्करण २०८२ जेठ ७ गतेदेखि टुँडिखेलमा सञ्चालन गरिएको थियो। दुई हजार ८२ जनालाई तालिम दिने लक्ष्य राखिएको उक्त मेलामा अनलाइन आवेदन दिएका मध्ये दुई हजार ९२५ जना छनोट भएका थिए। मेलामा १० क्षेत्रका ४२ पेसासँग सम्बन्धित तालिम समावेश गरिएको थियो।
तालिमका विषयमा सूचना प्रविधितर्फ साइबर सुरक्षा, मल्टिमिडिया, प्रोग्रामिङ, ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स र कृत्रिम बुद्धिमत्ताको प्रयोगलगायत विषय समावेश थिए । यसैगरी सौन्दर्य कला, विद्युतीय उपकरण मर्मत, मोबाइल तथा ल्यापटप मर्मत, निर्माण, प्लम्बिङ, वेल्डिङ, सिलाइ तथा फेसन डिजाइन, बारिस्ता, बेकरी, अटोमोबाइल मर्मत, थाङ्का, सेरामिक्स, ज्योतिष, पुरोहित, पुष्प सजावट र सेयर बजारसम्बन्धी तालिम सञ्चालन गरिएका थिए ।
दोस्रो संस्करणमा विशेष क्षमता भएका व्यक्तिलाई सहयोग गर्ने जनशक्ति उत्पादनका लागि हाउसकिपिङ र केयर सर्भिससम्बन्धी तालिमसमेत समावेश गरिएको थियो। हाउसकिपिङतर्फ बहिरा बालबालिकाका सहजकर्ता तथा केयर सर्भिसतर्फ डाउन सिन्ड्रोम र अटिजम भएका बालबालिकाको हेरचाहमा सहयोग गर्ने जनशक्तिलाई लक्षित गरिएको थियो ।
सीपमूलक तालिमलाई रोजगारी र स्वरोजगारसँग जोड्ने महानगरपालिकाको प्रयासले युवालाई श्रम बजारमा प्रवेश गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। तर, तालिम प्राप्त जनशक्तिले दीर्घकालीन रोजगारी पाउने अवस्था सुनिश्चित गर्न उद्योग तथा व्यवसायको मागअनुसार तालिम सञ्चालन, सीपको प्रमाणीकरण र तालिमपछिको रोजगारी अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक देखिन्छ ।
