झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा
जनताकाे समर्थनले एमालेको आत्मविश्वास वृद्धि भएको छ : अध्यक्ष ओली
काठमाडौँ, २५ मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिककाे माया, ममता, स्वागत र आत्मीयपनले एमालेकाे आत्मविश्वास वृद्धि भएकाे बताउनुभयो ।
उहाँले गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त भएकाे भन्दै दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेकाे बताउनुभयाे ।
एमालेको यात्राका क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको अध्यक्ष ओलीले त्यस अवसरमा आलोचना गर्नुभयो । एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएकाले त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले युवालाई देशमै राख्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताका रूपमा काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि संकल्प अभियान सञ्चालन गरेको बताउनुभयो। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरु यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।