पशुपतिनाथमा आज सर्वसाधारणलाई नागमणि देखाइने
काठमाडौं, २६ मंसिर । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति परिसरमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।
मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री प्रदर्शन गरिनेछ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ ।
यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । मङ्गलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ ।