वीरको कार्यकारी निर्देशकमा पुनर्बहालीपछि पौडेलः न्याय पाएँ, आजैबाट थप उर्जाका साथ कामगर्छु
काठमाडौं, ३ पुस । वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाइनु भएका डाक्टर सन्तोष पौडेलको पुनर्बहाली भएको छ । वीर अस्पतालका कार्यकारी निर्देशक पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट हटाएर मन्त्री मोहन बस्नेतले मन्त्रालयमा तान्ने निर्णय गर्नुभएको थियो । मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले डा पौडेललाई मन्त्रालयमा हाजिर हुन आउने भन्दै पत्राचारसमेत गरेको थियो ।
पौडेलको जिम्मेवारी १५ महिना बाँकी छँदै राजनीतिक पूर्वाग्रहका रुपमा उहाँलाई हटाइएपछि पौडेलले अदालतको ढोका ढकढक्याउनु भएको थियो । पौडेलले आफूलाई अन्यायपूर्वक हटाएको भन्दै मन्त्री बस्नेतको शैलीलाई अधिनायकवाद शैली भएको आरोप लगाउनु भएको थियो ।
काम गर्दागर्दै र सुधार गर्न खोज्दा हटाएको पत्र आएको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्नुभएको थियो । उहाँले त्यसैबेला लेख्नुभएको थियो– ‘अधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको अक्षम’ भनेर आरोप लगाएर हटाएको इतिहास छ । दुई वर्षको अवधि तोकी नियुक्ति पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको बिशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो । यो राणा शासन भन्दा कडा अधिनयकबाद हो । विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट ‘लोकतन्त्र लजाएको छ ।’
आज अदालतबाट न्याय पाएपछि मैत्रिन्युजसँग कुराकानी गर्दै पौडेलले आजैबाट जिम्मेवारी सम्हाल्ने जानकारी दिनुभयो । ‘सर्वोच्च अदालतले न्याय दिएको छ । नीति विपरित गरेको काम कुनै हालतमा पनि उपयुक्त थिएन,’ उहाँले भन्नुभयो, ‘मैले जुन माग राखेको थिएँ । त्यो कुरालाई न्यायलयले सदर गरिदियो । फेरि पनि जनताको पक्षमा काम गर्न मलाई उर्जा दिएको छ । म आजैबाट काम सुरु गर्छु ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले मङ्सिर १४ गतेको मन्त्री स्तरीय बैठकबाट निर्णय गराई पौडेललाई पदबाट हटाएपछि उहाँ सर्वोच्च पुग्नु भएको थियो । न्यायाधीश हरिप्रसाद फुयाँलको सोमबारको एकल इजलासले किन हटाएको भन्दै सरकारसँग कारण माग गरेको थियो । मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।