निषेधित क्षेत्र माइतीघरमा प्रदर्शन गर्ने १७ अधिकारकर्मी पक्राउ

काठमाडौं, ५ पुस । निषेधित क्षेत्र माइतीघरमा प्रदर्शन गर्ने १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।

एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धकाे अपराध हाे भन्दै बिहीबार मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगाएतका अधिकारकर्मीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेकाे हाे ।

विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनीलगायत रहेका छन् ।

उनीहरुलाई प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा लगिएकाे छ । सरकारले गत महिनादेखि काठमाडौंको माइतीघरलगाएतका स्थानमा प्रदर्शन निषेध गरेको छ । बुधबार मात्र जिल्ला प्रशासन कार्यालय काठमाडाैंले एक सूचना जारी गरी थप दुई महिना माइतीघरलगाएतका पाँच स्थानमा प्रदर्शन निषेध गरेको छ ।