यस्तो छ एनएसएलको प्लेअफ समीकरण, खेल समय पनि परिवर्तन
काठमाडौं, ८ पुस । नेपाल सुपर लिग (एनएसएल) २०२३ को लिग चरण अनपेक्षित नतिजाका कारण रोमाञ्चक बनेको छ ।
ठीक एक महिनाअघि एनएसएलको दोस्रो संस्करण सुरु भएको थियो । ९ टोलीले प्रतिस्पर्धा गरेको एनएसएलको लिग चरणको ३६ खेलपछि शीर्ष चारमा रहेर प्लेअफ खेल्ने टोलीको टुङ्गो लागेको छ ।
जसमा छन् पोखरा थण्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी । रमाइलो संयोग के छ भने पोखरा बाहेक बाँकी तीन टिम लगातार दोस्रो पटक प्लेअफ पुगेका हुन् ।
यसअघि २०७८ मा भएको पहिलो संस्करणमा काठमाडौंले उपाधि जितेको थियो । धनगढी उपविजेता बन्दा ललितपुर तेस्रो भएको थियो । त्यसबेला बुटवल-लुम्बिनी पोखरा थण्डर्सलाई गोल अन्तरमा पछि पारेर प्लेअफ पुगेपनि एलिमिनेटरमा हारेपछि चौथो भएको थियो ।
तर, यसपटक पोखरा लिगमै शीर्ष स्थानमा रहेर प्लेअफ पुग्ने पहिलो टोली बनेको थियो । अन्तिम दिन साविक विजेता काठमाडौंसहित ललितपुरले पनि प्लेअफमा स्थान पक्का गरे ।
यस सिजन प्लेअफमा पुग्ने टोलीको अन्तिम टुङ्गो अन्तिम खेलको नतिजापछि नै लागेको थियो ।
पोखरा ८ खेलबाट ४ जित तीन बराबरी र एक हारसहित १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो । धनगढीले ८ खेलमा तीन जित चार बराबरी र एक हारको नतिजाबाट १३ अंक जोडेर दोस्रो भयो । अन्तिम खेल जित्दै तेस्रो जित हात पारेको काठमाडौं तीन जित ३ बराबरी र दुई हारको नतिजाबाट १२ अंक जोडेर तेस्रो भयो ।
अन्तिम दुई खेल लगातार हारेपनि भाग्यमानी बनेको ललितपुर दुई जित चार बराबरी र दुई हारको नतिजाबाट १० अंक जोडेर चौथो भयो ।
ललितपुरसहित झापा एफसी र बुटवल लुम्बिनीको पनि समान १० अंक थियो । तर, ललितपुरले झापालाई गोल अन्तरमा पछि पार्यो भने बुटवललाई हेड टु हेडमा पछि पार्यो ।
अब प्लेअफमा फाइनलसहित कुल ४ खेल हुनेछन् ।
जसमा शीर्ष दुई टोली पोखरा र धनगढीबीच सोमबार पहिलो क्वालिफायर हुनेछ । यस खेलको विजेता सीधै फाइनल पुग्नेछ ।
यस्तै तेस्रो भएको काठमाडौं र चौथो भएको ललितपुरबीच मंगलबार एलिमिनेटर हुनेछ । यो खेलमा भने विजयी हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिनेछ ।
प्लेअफका चारै खेलका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेमेन्टले खेल समय पनि परिवर्तन गरेको छ । यसअघि साँझ ५ बजे खेल सुरु भएपनि अब प्लेअफमा आधा घण्टा ढिला अर्थात साँझ साढे ५ बजे खेल सुरु हुनेछ ।
दुवै क्वालिफायरको विजेताबीच आउने शनिबार फाइनल खेल हुनेछ । यस पटक च्याम्पियन हुने टोलीले करिब ७५ लाख नगद पुरस्कार पाउनेछन् ।