सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे घटनास्थलमै मृत्यु, स्थानीयले जलाए बस

काठमाडौं : सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएकाे छ ।

आज बिहान सुनकोसी गाउँपालिका–३ बोहोरेटारस्थित विपि राजमार्गमा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ का २० वर्षीय सुसन राई र मोटरसाइकल पछाडि सवार सोही नगरपालिका १० की १८ वर्षीया मुनाकला राई भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवि दाहालले जानकारी दिए।

बागमती प्रदेश ०१००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको हो।

मन्थली नपा वडा नं– १३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

बसकाे ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । बसमा आगजनी भएपछि सिन्धुलीका एसपी राजकुमार सिलवाल  घटनास्थलमा जाँदै छन् ।