पार्टीका प्रदेश पदाधिकारीलाई साक्षी राखेर ओलीको सन्देश– एमाले सरकारका लागि हिरिक्क हुँदैन

काठमाडौं, २० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको उद्देश्य र गन्तव्यका साथ अगाडि बढिरहेकाले पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालयमा पार्टीका प्रदेश पदाधिकारीहरूको राष्ट्रिय भेलालाईसम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले शान्ति सुव्यवस्था, सुशासन र विकाससहितको सुरक्षित र समृद्ध नेपाल पार्टीको चाहना भएको पनि स्पष्ट गर्नुभयो ।

देशको भूमिको रक्षा, राष्ट्रियता, स्वाधीनता र राजनीतिक उपलब्धिहरूको रक्षा अहिले राज्यको मुख्य कार्यभार रहे पनि गठबन्धनले त्यसलाई कमजोर बनाउँदै र धरापमा पार्दै लगिरहेको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले एमाले सरकारमा जानका लागि हिरिक्क नगरेको र नगर्ने बताउँदै देशको रक्षा, राष्ट्रियताको रक्षा, सुरक्षित र समृद्ध नेपाल निर्माणको योजना कार्यान्वयनका लागि सरकारमा पुग्नुपर्ने हुँदा मिसन–२०८४ भनिरहेको स्पष्ट गर्नुभयो ।

‘अहिलेको गठबन्धनले विदेशीसँग मिलेर सरकारमा पुग्ने, उनीहरूकै आशिर्वाद र सहयोगमा सत्ता टिकाइरहने धार पक्रेको हुँदा देशका उपरोक्त मुख्य अभिभारा पूरा गर्न सक्दैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालमा अहिले बर्ग सङ्घर्ष नयाँ ढङ्गले निकै तिब्रताका साथ चलिरहेको छ, हामीहरू क्रान्तिकारी सङ्क्रमणको बाटोमा छौँ ।’ उहाँले प्रतिक्रियावादी शक्तिहरू बल प्राप्तिका लागि गठजोड गरिरहेको भनाइ पनि राख्नुभयो ।

अध्यक्ष ओलीले प्रदेश कमिटीका पदाधिकारीहरूको राष्ट्रिय भेलाबाट पार्टीलाई प्रभावकारीरूपमा अगाडि बढाउनका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा (एमाले) एक्ला–एक्लै हिसाव गर्दा सबैभन्दा बलियो पार्टी रहेको भए पनि २०८४ को निर्वाचनसम्म पुग्दा प्रतिक्रियावादी गठजोड बन्दा पनि बलियो र सुदृढ शक्तिका रूपमा स्थापित हुनुपर्ने बताउँदै उहाँले प्रदेश पदाधिकारीहरूलाई त्यस दिशामा केन्द्रित भएर अत्यन्त सक्रिय र एकताबद्ध ढङ्गले कामलाई अगाडि बढाउन निर्देशन दिनुभयो ।

मिसन– २०८४ सफल हुने आधारहरू रहेको र प्रदेश कमिटीहरूको कामबाटै सफलता मिल्ने बताउँदै अध्यक्ष ओलीले प्रदेश अन्तर्गतका वैचारिक, सांगठानिक सबै काममा सफल नेतृत्व दिन प्रदेश पदाधिकारीहरूलाई आग्रह गर्नुभयो । उहाँले नेकपा (एमाले) ले उद्देश्यमूलक र गन्तव्यसहितको राजनीति गरिरहेकाले नेतृत्व निर्माण र कामको जिम्मेबारी बाँडफाँटका क्रममा तँछाडमछाड नगरी योग्यता, क्षमताका आधारमा जिम्मेवारी लिनेरदिने संस्कार बसाल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेलले पार्टीका जिल्ला कमिटीहरूका अधिवेशनका सन्दर्भमा पार्टी केन्द्रले तयार गरेको परिपत्रका बारेमा जानकारी गराउनुका साथै भर्खर सम्पन्न समृद्धिका लागि सङ्कल्प यात्राको प्रभाव र सन्देशका सम्बन्धमा धारणा राख्नुभएको थियो । महासचिव पोखरेलले पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न गरिएको समृद्धिका लागि सङ्कल्प यात्राले पार्टीलाई एकताबद्ध र जनतामा पार्टीलाई स्थापित गर्ने काम गरेको बताउँदै यो यात्रा एमालेले सञ्चालन गरे पनि यसले सिङ्गो राष्ट्रको सङ्कल्प यात्राको रूप लिएको विचार व्यक्त गर्नुभयो ।

उहाँले यात्रा सबै खालका अतिवादलाई निस्तेज पार्ने दिशामा उपलब्धिमूलक रहेको बताउँदै यात्राका उपलब्धिहरूलाई प्रदेश कमिटीहरूले संगठनात्मक जीवनमा ढाल्न सक्नुपर्छ भन्नुभयो । महासचिव पोखरेलले मिसन ग्रासरुटको सुझावका आधारमा पार्टीलाई बार्षिक कार्ययोजना बनाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले पार्टीका जिल्ला अधिवेशनहरू केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेको सदस्यता सङ्ख्याका आधारमा गर्नुपर्ने, बताउनुहुँदै अधिवेशनमा युवा तथा महिला सहभागिता र प्रतिनिधि छनोट लगायत विषयमा निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।

एमाले उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल र स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीको उपस्थिति रहेको भेलामा भूगोलका सात प्रदेश र गैरभौगोलिक क्षेत्रका दुई विशेष प्रदेश गरी नौ वटै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *