दसैँ मनाउन गाउँ फर्किनेको लर्को, उपत्यका छाड्ने यात्रु साढे चार लाख नजिक
काठमाडौँ, ३१ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाका नयाँ बसपार्कसहित विभिन्न नाका र बसपार्कमा घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दसैँ मनाउन गाउँ फर्किन थालेपछि यात्रुको चाप बढेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायत क्षेत्रमा यात्रुको चाप बढेको छ । यात्रुको आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेको उनले बताए ।
कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म चार लाख २३ हजार ६६४ यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
दसैँ मनाउन यात्रु फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती तथा ललितपुरको भट्टेडाँडा नाकाबाट बाहिरिने गरेका छन् ।
यात्रुको चाप बढेसँगै यातायात व्यवसायीले पनि बस व्यवस्थापनलाई तीव्रता दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण केही समस्या भए पनि सम्बन्धित निकायसँगको समन्वयमा बस व्यवस्थापन भइरहेको बताए ।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैँ परिवार, आफन्त र समुदायबीच भेटघाट तथा सम्बन्ध प्रगाढ बनाउने पर्व भएकाले रोजगारी र अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिस हरेक वर्ष चाडपर्व मनाउन घर फर्किने गर्छन् ।
