मेलम्चीको पानी चार दिनमा काठमाडौँ आइपुग्ने

काठमाडौँ, २७ पुस । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ ।

अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको हाे ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।”

करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौँका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताउनुभयो ।

उहाँका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *