थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

सोलुखुम्बु, १८ माघ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबाट मूल्य निर्धारण गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यसमेतलाई आधार मानी ‘ए’ ग्रेडको ‘पार्चमेन्ट’ कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रू छ सय निर्धारण गरिएको छ ।

बोर्डले भने सोही कफीको मूल्यप्रति केजी रु पाँच सय निर्धारण गरेको छ । गत मङ्सिर १ गतेदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरी बोर्डले सार्वजनिक सूचना नै जारी गरेको छ । बोर्डको समर्थन मूल्यभन्दा प्रतिकिलो रू एक सय बढी निर्धारण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “थुलुङ दूधकोशी सरकार वास्तविक कृषकको उन्नतिका लागि काम गर्ने सरकार हो, त्यसैले आर्थिक विकासका लागि महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” यसअघि थुलुङ दूधकोशी गाउँपालिका–८ देउसामा रहेको देउसा कृषिवन स्रोतकेन्द्रले कृषकको कफी प्रतिकिलो रू पाँच सयले सङ्कलन गर्दै आएको थियो ।

थुलुङ दूधकोशीमा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको अध्ययनले जनाएको छ । इको हिमाल नेपालकै पहलमा यहाँ उत्पादित कफी बेलायत र अष्ट्रेलिया लगायतका राष्ट्रमा नमुना परीक्षणका लागि पठाउँदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताउनुभयो ।

थुलुङ दूधकोशीले पालिकामा नै कफी प्रशोधन गर्ने भएपछि यहाँका कृषक खुसी भएका छन् । गाउँपालिका प्रवक्ता कार्कीका अनुसार अहिले कफी प्रशोधन गर्ने मेसिन खरिदलगायत अन्य संरचना निर्माणको तयारी तीव्र पारिएको छ । करिब रू ७० लाखको लागतमा उक्त परियोजनाको कार्य भइरहेको उहाँको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *