श्रीखण्ड तरुमल महाविहारले ‘आयुसंस्कारपरित्याग दिवस’ मनाउँदै

काठमाडौं, ९ फागुन । भगवान गौतम बुद्धले गरेको आयुसंस्कारपरित्यागलाई मनन् गर्दै श्रीखण्ड तरुमल महाविहारले ‘आयुसंस्कारपरित्याग दिवस’ भब्यरुपमा मनाउने भएको छ ।

यहि फागुन १२ गते ‘आयुसंस्कारपरित्याग दिवस’ मनाउने तयारी गरेको आयुसंस्कारपरित्याग दिवस समारोह उप–समितिका संयोजक इञ्जिनियर दिल्लीरत्न शाक्यले जानकारी दिनुभयो ।

‘उक्त दिन भगवान बुद्धको मूर्ति विशेष रुपले सजाएको गाडीमा विराजमान गराई बसन्तपुरबाट विभिन्न सांस्कृतिक वाजागाजासहित शोभायात्रा नगरपरिक्रमा गराउने कार्यक्रम छ,’ शाक्यले भन्नुभयो, ‘उक्त कार्यक्रममा काठमाडौंका विभिन्न वौद्ध विहारका भिक्षु, अनागरिका गुरुमा तथा उपासक–उपासिकाहरुका साथै समाजका विभिन्न समूदायका हजारौँको संख्यामा सहभागिता रहने छ ।’

उहाँले शोभायात्रा नगरपरिक्रममा पछि आयुसंस्कारपरित्याग दिवसको महत्वमाथि प्रकाश पार्दै कुमारी घरको सामुन्ने रहेको डबलीमा काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोलको प्रमुख आथित्यतामा विशेष वौद्ध सभाको आयोजना गरिएको पनि जानकारी दिनुभयो । ‘भिक्षुसंघ र वज्राचार्य गुरुवर्गबाट शान्ति–स्वस्ति वाचन गरी कार्यक्रम आरम्भ हुनेछ,’ शाक्यले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *