नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ प्रदर्शनी

काठमाडौं, २९ कात्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्न चीन सरकारसँग सहयोगका लागि आग्रह गर्नुभएको छ ।

आइतबार चाइना मिडिया ग्रुप एशियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा आयोजना गरेको ‘नमस्कार, मेरो चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अस्पतालको स्तरोन्नति तथा संस्थागत विकासका लागि थप प्राविधिक सहयोग, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्य आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले अस्पतालसँग प्रतिष्ठानका रूपमा विकास हुन आवश्यक भौतिक पूर्वाधार, उपलब्ध सेवा, संस्थागत अनुभव र राष्ट्रिय जिम्मेवारीसमेत रहेको उल्लेख गर्दै यसका लागि चीन सरकारसँग सहयोग गर्न आग्रह गर्नुभयो ।

दाहालले सन् १९९९ मा चीनको सहयोगमा स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल–चीन मित्रताको महत्वपूर्ण प्रतीक भएको बताउनुभयो । एक सय शय्याबाट सुरु भएको अस्पताल अहिले ५०० शय्यामा विस्तार भएको छ। अस्पतालमा हालसम्म २९९ जनाको संख्यामा चिनियाँ मेडिकल टोलीले सेवा दिइसकेका र अहिले १७ औँ मेडिकल टोलीमार्फत चिनियाँ विशेषज्ञहरूले सेवा प्रदान गरिरहेको उनले जानकारी दिनुभयो ।

अस्पताल स्थापना गर्ने समझदारी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सन् १९९२ मा बेइजिङमा भएको स्मरण गर्दै उनले क्यान्सर उपचार, बोनम्यारो ट्रान्सप्लान्टलगायत आधुनिक स्वास्थ्य सेवाको विस्तारमा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले चीनको सहयोग भवन र उपकरणमा मात्र सीमित नरहेको भन्दै नेपाली स्वास्थ्यकर्मीको सीप विकास, उपचार सेवाको विस्तार तथा दुई देशका चिकित्सकबीच व्यावसायिक सम्बन्ध स्थापित गर्न पनि योगदान पुगेको बताउनुभयो ।

नेपाल–चीन स्वास्थ्य सहकार्य क्यान्सर उपचारमा मात्र सीमित नरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले काठमाडौंमा चीनको अनुदान सहयोगमा निर्माण भएको निजामती कर्मचारी अस्पताल र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले पनि स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । कार्यक्रममा दाहालले नेपालमा कार्यरत चिनियाँ चिकित्सकहरूको सेवाभाव, समर्पण र मानवीय संवेदनालाई वृत्तचित्रले जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो । करिब १२ मिनेटको वृत्तचित्रले आफूलाई प्रभावित पारेको उल्लेख गर्दै उनले भाषा, भूगोल र संस्कृतिको भिन्नताले मानवीय सेवालाई रोक्न नसक्ने बताउनुभयो ।

‘मानवीय सेवाको कुनै सीमा हुँदैन। पीडामा परेका मानिसको जीवनमा आशा र खुसी फर्काउनु नै चिकित्सकीय सेवाको सबैभन्दा ठूलो उपलब्धि हो,’ उहाँले भन्नुभयो, ‘२०७२ सालको महाभूकम्प, कोभिड–१९ महामारी तथा गत भदौमा रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीका बेला चीन सरकारले गरेको उद्धार, राहत तथा स्वास्थ्य सामग्री सहयोगको स्मरण गरेका छौँ ।’
नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७१औँ वर्ष पार गर्दै गर्दा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको उल्लेख गर्दै दाहालले शिक्षा, प्रविधि, पूर्वाधार, कृषि, पर्यटन र संस्कृतिमा समेत दुई देशबीचको सहयोगलाई थप परिणाममुखी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्याउन योगदान गरेको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ, चीन सरकार र चिनियाँ जनताप्रति आभार व्यक्त गर्नुभयो ।
चाइना मिडिया ग्रुप र चीनको राष्ट्रिय स्वास्थ्य आयोगको आयोजनामा भएको वृत्तचित्र प्रदर्शनी कार्यक्रमलाई चाइना मिडिया ग्रुपको एसियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीले संयोजन गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोसी बाढी तथा मनसुनजन्य विपद्बाट प्रभावित प्रदेशका १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक भौतिक पूर्वाधारको पुनर्निर्माण तथा स्तरोन्नतिमा चीन सरकारसँग सहयोग माग गर्नुभयो । मन्त्री तामाङले विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा चीन सरकारको सहयोग र सहकार्य अपेक्षा गरेको बताउनुभयो ।

‘विगतका कठिन घडीहरूमा जस्तै विपद्बाट प्रभावित १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक भौतिक पूर्वाधारहरूको पुनर्निर्माण तथा स्तरोन्नतिमा पनि मित्रराष्ट्र चीन सरकारबाट उदार सहयोग र सहकार्य प्राप्त हुनेमा बागमती प्रदेश सरकार पूर्ण विश्वस्त छ,’ उहाँले भन्नुभयो । मन्त्री तामाङले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा चीनले पुर्याएको योगदानको प्रशंसा गर्दै विशेषगरी बागमती प्रदेशको स्वास्थ्य पूर्वाधार विकास र गुणस्तरीय सेवा प्रवाहमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नेपाल–चीन स्वास्थ्य सहकार्यको गौरवशाली प्रतीकका रूपमा चित्रण गर्नुभयो । सन् १९९९ मा स्थापना भएदेखि नै अस्पतालमा कार्यरत चिनियाँ विशेषज्ञ चिकित्सकहरूले नेपाली बिरामीको उपचारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँको भनाइ थियो । चिनियाँ चिकित्सकहरूले नेपाली चिकित्सकसँग सहकार्य गर्दै जटिल शल्यक्रिया, आधुनिक उपचार पद्धतिको हस्तान्तरण तथा बोनम्यारो ट्रान्सप्लान्ट सेवा विस्तारमा योगदान गरेको उहाँले बताउनुभयो । यसबाट बागमती प्रदेशका मात्र नभई देशभरका क्यान्सरका बिरामी लाभान्वित भएको उहाँले उल्लेख गर्नुभयो ।

चिनियाँ चिकित्सकहरूले प्रदेशका दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविर र मोतियाबिन्दुको शल्यक्रियाबाट हजारौँ नागरिक लाभान्वित भएको उहाँले बताउनुभयो ।

‘नमस्कार, मेरो चिनियाँ डाक्टर’ वृत्तचित्रले चिनियाँ चिकित्सकहरूको निःस्वार्थ सेवा, त्याग र व्यावसायिक दक्षतालाई व्यापक रूपमा उजागर गर्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा बागमती प्रदेशको स्वास्थ्य प्रणाली सुदृढीकरण, प्राविधिक तालिम र परम्परागत चिकित्सा अनुसन्धानमा चीनसँगको सहकार्य थप विस्तार हुने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चौ फानले नेपाल र चीनबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार गर्न चीन इच्छुक रहेको बताउनुभयो ।

उहाँले सार्वजनिक स्वास्थ्य, चिकित्सा शिक्षा, अस्पताल व्यवस्थापन र टेलिमेडिसिनलगायतका क्षेत्रमा दुई देशबीचको सहकार्य अघि बढाउन चीन तयार रहेको बताउनुभयो ।
उहाँले नेपाल र चीनबीचको परम्परागत मित्रता लामो समयदेखिको रहेको उल्लेख गर्दै स्वास्थ्य सहकार्य दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभयो ।
सन् १९९९ देखि चीनको हपै प्रान्तले नेपालमा चिकित्सा टोली पठाउँदै आएको छ । हालसम्म १७ टोलीमार्फत २९९ जना चिनियाँ स्वास्थ्यकर्मी नेपाल आइसकेका छन् । अहिले १७ औँ टोलीका १७ जना स्वास्थ्यकर्मी नेपालमा कार्यरत छन् ।

उनीहरू हपै प्रान्तका विभिन्न प्रमुख अस्पतालबाट आएका हुन् । १२ वटा विशेषज्ञता क्षेत्रमा सेवा प्रदान गरिरहेका उनीहरू चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालमा खटिएका छन् ।

चौ फानका अनुसार विगत २७ वर्षदेखि नेपालमा कार्यरत चिनियाँ चिकित्सकहरूले उपचार सेवा, रोग रोकथाम, प्रविधि आदानप्रदान तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा योगदान दिँदै आएका छन् । उनीहरूको सेवाले नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रको विकासमा समेत सहयोग पुगेको बताउनुभयो । त्यस्तै, सन् २०१६ देखि चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपालबीच संयुक्त रूपमा तिब्बती तथा आधुनिक चिकित्सा पद्धतिसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । यसबाट हालसम्म ८ हजारभन्दा बढी नेपाली लाभान्वित भएको उनले जानकारी दिनुभयो ।

चीनले आगामी दिनमा नेपालको प्रमुख स्वास्थ्य पूर्वाधारको विकास र क्षमता अभिवृद्धिमा सहयोग गर्ने पनि उहाँले बताउनुभयो । स्थानीय क्यान्सर अस्पतालको विकास, निजामती कर्मचारी अस्पताल निर्माणमा सहयोग, स्वास्थ्यकर्मीलाई तालिम तथा शैक्षिक आदानप्रदानलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो । चौ फानले नेपाल–चीन मित्रता हिमालय पर्वतझैँ अटल र स्थायी रहोस् भन्ने कामना गर्दै वृत्तचित्र प्रचार कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा भिडियो सन्देशमार्फत चाइना मिडिया ग्रुप (सीएमजी) अन्तर्गत सीजीटीएनका प्रधानसम्पादक तथा एसियाली र अफ्रिकी भाषा कार्यक्रम केन्द्रका निर्देशक आन सियाओयुले वृत्तचित्र चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चाइना मिडिया ग्रुपको संयुक्त पहलमा तयार गरिएको भन्दै छायाँकन र प्रसारणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले वृत्तचित्र ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ मार्फत चीनले नेपालसँगको स्वास्थ्य सहकार्यको महत्व उजागर गरेको उल्लेख गर्नुभयो । उहाँले यी सत्य कथामार्फत दर्शकहरुलाई डाक्टरको परोपकारी, लगनशीलता, डाक्टर र विरामीबीचको विश्वास र मित्रता महसुस गर्न र विदेशका लागि चिनियाँ चिकित्सा टोली कसरी सर्वसाधारणमा आशा र परिवर्तन ल्याउँछ, त्यो हेर्ने तथा बुझ्नेछन् भन्ने आशा गरेको बताउनुभयो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य सम्मेलनमा राष्ट्रपति सी चिनपिङले जोड दिएको कुरा उदृत गर्दै उहाँले भन्नुभयो, ‘सबैजना स्वस्थ हुनु मानवजातिको साझा आकांक्षा हो, मानव स्वास्थ्य समुदायको निर्माणलाई सक्रियतासाथ बढाउन आवश्यक छ ।’ कार्यक्रममा नेपालका लागि चिनियाँ चिकित्सिा सहायता टोलीका प्रतिनिधिले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दाका वास्तविक अनुभव सुनाएका थिए । उनले एक वर्षमा मात्रै ५०० भन्दा बढी नेपाली स्वास्थ्यकर्मीलाई विभिन्न चिकित्सकीय विधि र प्रविधिबारे तालिम प्रदान गरिएको बताए ।

‘नेपालमा चिनियाँ चिकित्सकको अनुभव र अनुभूति’ शीर्षकमा आफ्नो अनुभव सुनाउँदै उहाँले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपाली चिकित्सकसँग सहकार्य गरी उपचार सेवा, प्रविधि हस्तान्तरण र विशेषज्ञ तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उनका अनुसार चिनियाँ टोलीले नेपाली स्वास्थ्यकर्मीलाई करिब १० वटा नयाँ चिकित्सकीय प्रविधि सिकाएको छ । पीआईसीसी, एक्युपञ्चर तथा चिनियाँ जडीबुटीमार्फत औषधि प्रवाह गर्ने विधिजस्ता उपचार प्रक्रिया नेपाली चिकित्सकले स्वतन्त्र रूपमा सञ्चालन गर्न थालेका छन्।

उहाँका अनुसार प्युठानको झिमरुक क्षेत्रबाट उपचारका लागि आएकी लिम्फोमा पीडित एक युवतीको उदाहरण दिँदै चिनियाँ र नेपाली चिकित्सकको संयुक्त प्रयासबाट उनको उपचार सफल भएको अनुभव सुनाउनुभयो । चार चरणको केमोथेरापीपछि उनको पेटभित्रका ट्युमर हराएको उहाँले बताउनुभयो ।

चार वर्षअघि चिनियाँ चिकित्सा टोलीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट प्रभावित भएर ती बिरामी उपचारका लागि बीपी कोइराला क्यान्सर अस्पताल पुग्नुभएको थियो ।
चिनियाँ चिकित्सकहरूले दुर्गम तथा ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । लामो दूरी, कठिन सडक र भाषागत चुनौतीका बाबजुद स्थानीय नागरिकलाई स्वास्थ्य सेवा पुर्याउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा काम गर्दा सीमित स्रोतसाधनमा उपचार गर्ने अनुभव, नेपाली स्वास्थ्यकर्मीको व्यावसायिक समर्पण र आपसी सहकार्यबाट आफूले पनि धेरै कुरा सिकेको उहाँको भनाइ छ।
उनले चिकित्सा सेवाको कुनै सीमा नहुने उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली स्वास्थ्यकर्मीसँगको सहकार्य विस्तार गरी स्थानीय स्तरमै विशेषज्ञ उपचार क्षमता विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वृत्तचित्र ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चाइना मिडिया ग्रुपको संयुक्त पहलमा निर्माण गरिएको हो । यसले चिनियाँ चिकित्सकहरूले बिरामीको उपचार र जीवन रक्षाका लागि गरेको समर्पण तथा मानवीय सेवाका कथाहरू प्रस्तुत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *