अध्यक्ष ओलीद्वारा छठ पर्वको शुभकामना
काठमाडौँ, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, आरोग्य, समृद्धि र पारिवारिक कल्याणको शुभकामना व्यक्त गर्नुभएको छ ।
छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था अभिव्यक्त गर्ने यस पर्वले सामाजिक सद्भाव, आपसी एकता तथा सांस्कृतिक सहिष्णुताको सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।
उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा कृतज्ञताको भावना प्रगाढ हुने र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशा, उत्साह तथा ऊर्जाको सञ्चार हुने सन्देशमा उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
