सरकारले प्रतिपक्षलाई नसुन्दै गए संसद् अवरुद्ध हुन्छ : सांसद विराजभक्त श्रेष्ठ

काठमाडौं, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही हुन नसके संसद् अवरोधदेखि लिएर सडक आन्दोलन हुने बताएका छन् ।

प्रतिनिधि सभाको आजकाे बैठकमा बोल्दै सांसद श्रेष्ठले बालकुमारी घटनामा प्रतिपक्षले माग गरेका विषयहरूलाई सरकारले जवाफ नदिएको भन्दै सदन र सडक दुवै अवरूद्ध गर्ने चेतावनी दिएका हुन्।

उनले भने, ‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौ । म सरकारलाई चेतावनी दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ ।’