प्रतिनिधि सभा बैठकमा तीन मन्त्रीको राजीनामा माग्दै एमालेले गर्याे विरोध

काठमाडाैं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभाको बैठकमा विरोध जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरूले विरोध जनाएका हुन्। बैठक सुरू भएपछि प्रतिपक्षी दलहरूले उभिएर विरोध जनाएका छन् ।

बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोल्दै सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठाउँदै मन्त्रीहरूको राजीनामा माग गर्नुभएकाे हाे ।

बालकुमारी घटनामा जाँचबुझ आयोगले नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि दोषी देखाइसकेकाे भन्दै उहाँले राजीनामा माग गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘भौतिक पूर्वाधार मन्त्रीको लापरबाही, उहाँ जसरी त्यो बाटोमा जानुभयो र स्वयम् सरकारले बनाएको आयोग, छानबिन समिति मात्रै होइन, आयोगले ‍मन्त्री दोषी छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा नैतिक हिसाबले हुँदै हुँदैन।’

त्यसैगरी उहाँले टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै मन्त्री बस्नेतकाे पनि राजीनामा माग गर्नुभएकाे छ ।

एमालेले संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेको छ।लुम्बिनीको रामग्रामलाई ९९ वर्षका लागि लिजमा दिएको भन्दै उहाँले मन्त्री किरातीको पनि राजीनामा माग गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *