वैशाख २० अगाडी नै उपचुनाव गर्ने आयाेगकाे तयारी

काठमाडाैं, १३ फागुन । निर्वाचन आयोगले आगामी वैशाख तेस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ।
आयोगले वैशाख १५ देखि २० गतेभित्र कुनै एक दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी गरेकाे हाे ।
आज आइतबार साढे १२ बजे निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दैछ। आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम गरेको र फागुनको १७ गतेखि रूजु सुरू गरिने जनाएकाे छ ।
मतदाता नामावली अद्यावधिक र रूजु गर्न चैतको २२–२३ गतेसम्म लाग्ने र त्यसपछि निर्वाचनको प्रक्रिया सुरू गर्दा वैशाख १५ पछि निर्वाचन गर्दा उपयुक्त हुने आयाेगकाे ठहर छ ।
उपनिर्वाचन इलाम क्षेत्र नम्बर २, बझाङ क्षेत्र नम्बर १, दैलेखको महाबु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, कीर्तिपुर नगरपालिका–४, काठमाडौं महानगरपालिका–१६, नुवाकोटकाे ककनी गाउँपालिका–२, मकवानपुरकाे हेटौंडा उपमहानगर–१२, उदयपुरको त्रियुगा नगरपालिका–१२, रौटहटको ईशनाथ नगरपालिका–७ र रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा विभिन्न पदहरू खाली भएका छन् ।
त्यस्तै गोरखा नगरपालिका–५, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र कालिकोटको तिलागुफा नगरपालिका–४, सुनसरीको गढी गाउँपालिका–६, जाजरकोटको कुशे गाउँपालिका–७ र दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा विभिन्न पदहरू खाली भएकाे निर्वाचन आयोगले जनाएको छ।