त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई

काठमाडौँ, २२ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएकाे खेलमा नेदरल्याण्ड्ससंग चार विकेटले नेवपाल पराजित भएकाे हाे ।

नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा भेट्यायो ।

नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका उनले २९ बलमा तीन छक्का र छ चौकाको सहयोगमा ५४ रन बनाए भने म्याक्स ओ डाउडले २३ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २२ रन बनाए ।

उत्कृष्ट सुरुआत गरेको नेदरल्याण्ड्सका लागि ओपनरद्वय लेभिट र ओ डाउडले पहिलो विकेटका लागि ८३ रनका साझेदारी गरे । नवौँ ओभरमा बलिङका लागि आएका कुशल मल्लले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई राहत दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन ।

उनले नवौँ ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए भने सोही ओभरको पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराउँदै पवेलियन फर्काए ।

नेदरल्याण्ड्सले एक सय ३४ रन छँदा तेस्रो विकेटका रुपमा विक्रम जित सिंहलाई गुमायो । सिंहले २३ बलमा तीन छक्कासहित २९ रन बनाए । साथै एक सय ४१ रन छँदा उसले कप्तान स्कट एडवार्डलाई गुमायो । एडवार्डले जम्मा दुई रन बनाए ।

नेदरल्याण्ड्सले एक सय ६६ रन बनाउँदा पाँचौ विकेटका रुपमा साइब्राण्ड एङ्गलब्रेक्टलाई गुमायो । एङ्गलब्रेक्टले २९ बलमा तीन छक्का र चार चौकाको सहयोगमा ४८ रनको योगदान दिए । साथै छैटौँ विकेटका रुपमा एक सय ७३ रन छँदा तेजा निदामानुरुलाई गुमायो । निदामानुरुले दुई रन मात्रै बनाए ।

त्यसैगरी बलर टिम भान डेर गुग्टेन पाँच बल खेल्दै दुई छक्का र दुई चौकाको सहयोगमा २१ रन र रोलफ भान डर पर्व दुई रनमा अविजित रहे ।

नेदरल्याण्ड्सको जितमा ५४ रन र दुई विकेट लिएका लेभिट प्लेयर अफ दि म्याच घोषित भए ।