सिरहामा धारिलो हतियार र सिलौटा हानेर महिलाको हत्या
सिरहा, २६ फागुन । सिरहाको गोलबजार नगरपालिका- ६ स्थित एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार स्थानीय ३५ वर्षीया अनिताकुमारी साहको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको हो ।
उनको गर्दनमा धारिलो हतियार र टाउकोमा सिलौटा प्रहार भएको प्रहरीले जनाएको छ । मृतक अनिताका श्रीमान महेन्द्र शुक्रबार राति नै अचेत अवस्थामा घरबाट बाहिरिएका थिए । उनलाई स्थानीयले उपचारका लागि अस्पताल पुर्याएपछि हत्या बाहिरिएको बताइएको छ ।
साह दम्पतीले सिकिन्द्र साहको घर भाडामा लिएर एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको थियो । पछिल्लो समय उनीहरुबीच विवाद चल्दै आएको बेला घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले मृतकका श्रीमान् महेन्द्रलाई निगरानीमा राखेको छ ।
सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले श्रीमानश्रीमतीबीच विवाद चलिरहेको भन्ने कुरा आएको तर हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान गरिरहेको बताए ।