बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना भिक्षुहरुको धम्मयात्रा सुरु
लुम्बिनी, ३ चैत । बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि सुरु भएको छ ।
बुद्धजन्मस्थल लुम्बिनीकाे मायादेवी मन्दिरबाट सुरू भएकाे भिक्षुहरुको धम्मयात्रा दुई दिनपछि पूरा हुनेछ ।
भिक्षुहरुलाई लुम्बिनीकाे मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा सुरु गराएका हुन् । लुम्बिनीबाट सुरु भएको धम्मयात्रा शनिबार भैरहवा र आइतबार नवलपरासीको रामग्राम पुग्नेछ ।
लुम्बिनीमा बुद्धशिक्षालाई प्रवर्द्धन गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि एक हजार दुई सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई महत्वपूर्ण मानिने सदस्यसचिव सानुराजा शाक्यले बताए ।
अल्पकालीन भिक्षुहरूले पहेँलो चिवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्ने गर्दछन् । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । भिक्षु बन्न दुई सय २७ वटा नियम पालना गर्नुपर्ने हुन्छ ।
धम्मयात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्ममा प्रस्थान गर्नु हो । फागुन २६ गते अल्पकालीन भिक्षुहरूलाई प्रव्रज्या गराई पहेँलो चिवर प्रदान गरिएको थियो। फागुन १६ गतेदेखि सुरु भएको प्रव्रज्या यही चैत ८ गते समापन हुनेछ ।