रुस आफ्नाे सेनामा भर्ना भएका नेपालीकाे करार रद्द गर्न तयार : परराष्ट्रमन्त्री
काठमाडौं, ५ चैत । रुसले आफ्नो सेनामा भर्ना भएका नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएकाे छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले संसद्मा उठेका विषयमा स्पष्ट पार्दै रुसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्ने बारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको बताउनुभएकाे हाे । तर घर फर्किन चाहनेहरूका लागि मोटालिटी तय हुन बाँकी रहेको बताउनुभएकाे छ ।
परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी भएकालाई नेपाल फर्काउन पनि मन्त्रालयले उच्च प्राथमिकता दिइरहेको बताउनुभयाे ।
उहाँले रूस सरकारले त्यहाँ मृत्युभएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया प्रारम्भ गरेको र सेनामा काम गरेकालाई करार रद्द गरी नेपाल फर्काउन सकारात्मक पहल भइरहेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय हित तथा परराष्ट्र सम्बन्धका विषयमा गम्भीरता र संयमता अपनाउन आग्रह गर्दै कूटनीतिक आचारसंहितालाई प्रभावकारीरुपमा लागू गर्ने जानकारी दिनुभयो ।
उहाँले मुलुकको परराष्ट्र नीति र कूटनीतिक सम्बन्धका बारेमा राष्ट्रिय हित तथा सहमतिका आधारमा संयमतापूर्वक विचार व्यक्त गर्न सङ्घीय र प्रादेशिकसभाका शीर्ष नेता एवं सांसदलाई आग्रह गर्नुभयो । “हामीले मुलुकलाई केन्द्रमा राखेर कूटनीतिक मामिलामा सहमतिका साथ अगाडि नबढे सार्वभौम र स्वतन्त्र नेपालको रक्षामा गम्भीर चुनौती खडा हुनसक्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “त्यसैले एक स्वतन्त्र र सार्वभौम मुलुकका नागरिकका रुपमा आफूलाई प्रस्तुत गरी कूटनीतिक आचारसंहिता पालना गर्न म सबैलाई आग्रह गर्दछु ।”