एमाले महासचिव पोखरेलको नजरमा सुहाङः नयाँ पुस्ताको प्रतिनिधि पात्र

काठमाडौं, १४ चैत । नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर–२ बाट आगमी १५ वैशाख २०८१ मा हुने उप–निर्वाचनको लागि सुहाङ नेम्वाङलाई उठाउने निर्णय गरेको छ । केही दिन अघि एमाले मुख्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सुहाङलाई एमालेले उम्मेदवार बनाउने निर्णयसँगै इलामको चुनावी माहोल तान्न थालेको छ । संविधानसभाका अध्यक्ष समेत रहनु भएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली रहेको इलाममा निर्वाचन हुन लागेको हो । एमालेले त्यहि निर्वाचन क्षेत्रमा सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सुहाङलाई उम्मेदवार बनाएपछि केहीले ‘बाउको ठाउँमा छोरा’लाई भन्दै विरोध गरे पनि अधिकांशले युवालाई उम्मेदवार अघि सारेको भन्दै खुशी व्यक्त गरेका छन् । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पनि अहिलेको आवश्यकतालाई हेरेर सुहाङलाई उम्मेदवार बनाएको बताउनुभयो । ‘स्वाभाविक रुपमा इलाम हाम्रा लागि निरन्तर जनताको विश्वास र भरोसा जित्दै आएको ठाउँ हो,’ पोखरेलले भन्नुभयो, ‘कठिन समयमा पनि इलाममा हामीले चुनाव जित्दै आएका छौँ । त्यसकारण इलाम नेकपा (एमाले)को राजनीतिक आन्दोलनको इतिहास जोडिएको, जनताले विश्वास र भरोस गर्दै आएको ठाउँ पनि हो ।’

उहाँले पछिल्लो समय एमालेलेउम्मेदवार दिदैँ गर्दा इलामेली जनताको भावना र युवा पुस्तामा राजनीतिलाई पुर्याउनुपर्छ भन्ने भावनालाई गहिरोसँग आत्मसाथ गर्दै सुहाङलाई उम्मेदार बनाएको बताउनुभयो । ‘सुहाङ हाम्रो स्वर्गीय नेता सुवास नेम्वाङको छोरा मात्रै होइनन् । नयाँ पुस्ताको प्रतिनिधि पात्र पनि हुन्,’ पोखरेलले भन्नुभयो, ‘विदेशमा अध्ययन गरेर नेपालमै केही गरौँ भनेर फर्किएको युवा पनि हुन् । विदेशमा लाखौँको संख्यामा युवाहरु काम गरिरहेका छन् । उनीहरुको भविष्य नेपालमै छ भन्ने सन्देश दिनका लागि पनि सुहाङ जस्ता व्यक्तिहरु राजनीतिमा देखिनु जरुरी थियो । त्यहि कुरालाई आत्मसाथ गरेर इलामबाट सुहाङलाई उम्मेदवार बनाएका हौँ ।’

‘सुहाङ हाम्रो स्वर्गीय नेता सुवास नेम्वाङको छोरा मात्रै होइनन् । नयाँ पुस्ताको प्रतिनिधि पात्र पनि हुन्,’ पोखरेलले भन्नुभयो, ‘विदेशमा अध्ययन गरेर नेपालमै केही गरौँ भनेर फर्किएको युवा पनि हुन् । विदेशमा लाखौँको संख्यामा युवाहरु काम गरिरहेका छन् । उनीहरुको भविष्य नेपालमै छ भन्ने सन्देश दिनका लागि पनि सुहाङ जस्ता व्यक्तिहरु राजनीतिमा देखिनु जरुरी थियो । त्यहि कुरालाई आत्मसाथ गरेर इलामबाट सुहाङलाई उम्मेदवार बनाएका हौँ ।’

पोखरेलले बझाङको प्रदेश सभामा पार्टीको जिल्ला अध्यक्षलाई उम्मेदवार बनाएको जानकारी दिनुभयो । एमालेले बझाङबाट प्रदेशसभा–१ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ‘दमन जनताका बिचमा भिजेको, जमिनमा काम गरिरहेको व्यक्ति हुनुहुन्छ,’ पोखरेलले भन्नुभयो, ‘एकै पटकको चुनावमा हामीले दुई प्रकारको अभ्यास गरेका छौँ । नयाँ पुस्ता र संगठनात्मक कामको संयोजन । दुबै चिजलाई जोडेर हामीले अभ्यास गरेका छौँ । त्यसलाई हामी सफलतापूर्वक अघि बढाउँन चाहन्छौँ ।’

पोखरेलले नेपालको राजनीतिलाई नयाँ दिशामा अघि बढाउने हो भने राज्य र जनताका बिचको अन्योन्याश्रित सम्बन्ध अपरिहार्य रहेको र त्यो कुरालाई बुझ्न सक्नुपर्नेमा जोड दिनुभयो । ‘विगतमा हामीले सधैँ जनतलाई राज्यका विरुद्धको विद्रोहीका रुपमा मनोवैज्ञानिक रुपमा तयार गर्ने कुरामा केन्द्रित भए ६ दशक लामो राजनीति व्यथित गर्यौ,’ उहाँले भन्नुभयो, ‘अब संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेपछि राजनीतिक दल राष्ट्रका निर्माता हुन् । जनताहरु लोकतन्त्रका आधार स्तम्भ हुन् । राज्यसँग उनिहरुको अन्योन्याश्रित सम्बन्ध नै मुख्य प्रश्न हो । लोकतन्त्रमा राज्यलाई कमजोर बनाएर जनता बलियो हुँदैनन् । जनता बलियो हुने हो भने राज्य बलियो हुनुपर्छ ।’

उहाँले राज्य र जनताबिचको सम्वन्धलाई घनिष्ट बनाउने कुरा अबको राजनीतिको प्राथमिकताको विषय बन्नुपर्नेमा पनि जोड दिनुभयो । ‘यो भयो भने मात्रै मुलुकलाई उज्यालो भविष्यतर्फ अघि बढाउन सक्छौँ,’ उहाँले भन्नुभयो ‘अब सबै हातेमालो गरेर उज्यालो भविष्यतर्फ अघि बढाउन लागौँ ।’