प्रधानमन्त्री दाहाल नेतृत्वमा कतारी अमिर प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय सम्झाैता हुने

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता हुँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आइपुग्नुभएका अमिर नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानमन्त्री दाहालबीच बिहान १० बजेपछि भेटवार्ता हुनेछन् । यी सबै कार्यक्रमहरु राजा थानी बसेकै होटल सोल्टीमा हुन लागेकाे हाे ।

द्विपक्षीय वार्तापछि आज कतारी अमिर प्रतिनिधिमण्डलकाे उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुनेछ । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम रहेकाे मन्त्रालयले जनाएकाे छ ।

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गर्नु भएको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनुहुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो नेपालबाट फर्कनुहुनेछ ।

नेपाल भ्रमणमा रहनुभएका अमिरले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुका साथै उहाँको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नुभएकाे थियाे ।