भीमसेनस्थानमा १९ वर्षदेखि सामूहिक दुर्गा पूजा, दैनिक हजारौँ भक्तजन सहभागी

काठमाडौं, २७ असोज । नवरात्रका अवसरमा काठमाडौं महानगरपालिका–२० स्थित भीमसेनस्थानमा सामूहिक दुर्गा पूजा सुरु भएको छ। जय मातादी सेवा समाजको आयोजनामा असोज २५ गते आइतबारदेखि सुरु भएको पूजा कात्तिक ४ गते विजयादशमीका दिन बिहानसम्म सञ्चालन हुनेछ।

समाजका अध्यक्ष सन्तोषकुमार गुप्ताका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि सुरु गरिएको सामूहिक दुर्गा पूजामा दैनिक हजारौँ भक्तजन सहभागी हुने गरेका छन्।

पूजाका क्रममा असोज ३० गते शुक्रबार भीमसेनस्थान क्षेत्रमा पालकी यात्रा गरिने समाजले जनाएको छ। त्यसैगरी, असोज ३१ गते शनिबार फूलपातीका दिन भीमसेनस्थानस्थित परोपकार पुलमुनि पालकीबाट दुर्गादेवीको आँखा खोल्ने कार्यक्रम राखिएको छ।

समाजका अध्यक्ष गुप्ताका अनुसार बेलको हाँगामा दुर्गादेवीको बास हुने धार्मिक विश्वासका आधारमा पूजामा बेलको हाँगा राख्ने गरिएको छ। महाअष्टमी र महानवमीका दिन राति जागरण कार्यक्रमसमेत आयोजना गरिनेछ।

जय मातादी सेवा समाजले विगत १९ वर्षदेखि भीमसेनस्थानमा प्रत्येक वर्ष सामूहिक दुर्गा पूजा गर्दै आएको छ। यस वर्ष असोज २५ गते भद्रकाली मन्दिरबाट कलशयात्रा गरी पूजा सुरु गरिएको थियो।

कात्तिक ४ गते विजयादशमीका दिन देवी विसर्जन गरी दुर्गाको प्रसाद लगाएपछि पूजा समापन गरिने समाजले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *