इलाम-२ मा ५७ प्रतिशत मतदान, आजै रातीबाट गणना सुरु गर्ने तयारी
इलाम, १५ वैशाख । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयाे ।
उहाँका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार मतगणना शनिबार नै सुरु गर्ने तयारी छ ।
मतदानपछि सबै मतपेटिका केन्द्रबाट सदरमुकाम इलाम बजारमा ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयाे ।
‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, प्रजिअ यादवले भन्नुभयाे ।
भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्नेपनि उहाँले बताउनुभयाे ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम- २ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।