बागमती प्रदेशमा आजदेखि नेपाल भाषा र तामाङ भाषा पनि सरकारी कामकाजको भाषा लागू

काठमाडौं, २४ वैशाख । बागमती प्रदेशमा आजदेखि नेपाल भाषा (नेवारी) र तामाङ भाषा पनि सरकारी कामकाजका भाषाकारुपमा लागू भएका छन् ।

बागमती प्रदेश सरकारले प्रदेशमा नेवा: र तामाङकाे बाहुल्यता रहेकाे हुनाले नेपाली भाषासहित नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा नेवार र तामाङ समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकारुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताउनुभयाे ।

उहाँका अनुसार सोमबार काठमाडौँमा विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।