अध्ययन, पहलकदमी, उर्जा, उदेश्य र सिर्जनाले युवा हुने होः सुहाङ नेम्वाङ
काठमाडौं, ५ जेठ । प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्वाङले राजनीतिसँग जोडेर हेर्दा उमेरलाई मात्रै मापदण्ड राख्दा प्रयाप्त नहुने बताउनु भएको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आयोजना गरेको ‘युवा’ विचार गोष्ठीलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘हामी विचार, अध्ययन, पहलकदमी र सक्रियताले गर्दा युवा हुन्छौँ,’ उहाँले भन्नुभयो, ‘अझ राम्रोसँग भन्ने हो भने हामी युवा उर्जाले, उदेश्यले र सिर्जनाले हुन्छौँ । भनिन्छ नि उमेर भनेको एउटा अङ्क मात्रै हो । त्यसलाई हाम्रा धेरै अग्रजहरुले देखाइसक्नु भएको छ ।’
नेम्वाङले गरेको सम्वोधनका महत्वपूर्ण अंशः
सिक्ने तीन तरिका हुन्छन् । अध्ययन, भोगेर र अग्रजहरुका अनुभबवबाट । मैले यी तीन तरिकाबाट सिक्ने प्रयास गरेको छु र अझै पनि म सिकिरहेको छु । मैले धेरै कुरा सिक्न बाँकी छ । हाम्रो सिकाइको यात्रालाई निरन्तरता दिनुपर्छ ।
नेपालको संविधानले १६ वर्षदेखि ४० लाई युवा भन्ने रहेछ । संयुक्त राष्ट्रसंघको परिभाषालाई हेर्ने हो भने १५ देखि २५ वर्षको उमेरको व्यक्तिलाई युवा भन्ने रहेछ । तर, राजनीतिसँग जोडेर हेर्दा के उमेरलाई मात्रै मापदण्ड राख्दा प्रयाप्त हुन्छ त भन्ने ठूलो प्रश्नचिन्ह छ । हामी विचार, अध्ययन, पहलकदमी र सक्रियताले गर्दा युवा हुन्छौँ । अझ राम्रोसँग भन्ने हो भने हामी युवा उर्जाले, उदेश्यले र सिर्जनाले हुन्छौँ । भनिन्छ नि उमेर भनेको एउटा अङ्क मात्रै हो । त्यसलाई हाम्रा धेरै अग्रजहरुले देखाइसक्नु भएको छ ।
हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले)का अध्यक्षको खटाई हेर्दा उहाँको अध्ययन, विचार, उहाँको पहलकदमी, उहाँको सक्रियता हेर्दा हामी भन्दा धेरै युवा उहाँलाई देख्छु । त्यहि कारणले गर्दा राजनीति र युवालाई जोडेर हेर्दा युवाको मानक निरन्तरको अभ्यास, निरन्तरको सक्रियता, निरन्तर अध्ययन र निरन्तर पहलकदमीले हुनुपर्छ भन्ने मलाई लाग्छ ।
युवा राजनीति र देशको विकाससँग जोडिदा धेरै महत्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने कुरा हामी सबैलाई जगजाहेर नै छ । नेपालको २०७८ तथ्याङ्क अनुसार हामी ४२ दशमलब ५६ प्रतिशत युवा रहेछौँ । त्यो भनेको हामी अहिले युवाको युगमा चलिरहेका छौँ । त्यसैले यो विकास र समृद्धिको उर्वर समय हो ।
अर्को निरासजनक तथ्याङ्क पनि छ । अघिल्लो वर्ष भन्दा यो वर्ष २१ प्रतिशतले नेपाली दाजुभाई–दिदीबहिनीहरु विदेश पलाएन भएको तथ्याङ्क छ । अहिले मुलुकको आर्थिक र राजनीतिक अवस्था अहिले कठिन अवस्थामा छ । यो अवस्थामा हामीले युवासँग मिलेर कसरी अघि बढ्ने भनेर गम्भीर हुन आवश्यक छ । यहि कुरालाई ध्यानमा राखेर नेकपा (एमाले), हाम्रो अध्यक्ष केपी शर्मा ओली र अग्रजहरुले पछिल्लो समय युवाहरुलाई राम्रो स्थान दिदैँ आएको देखिन्छ । यस्तो अवस्थामा हामीले पनि युवायुवा भन्दै गर्दा हाम्रा अग्रजहरुको योगदानलाई पनि विर्सिनु हुँदैन ।
व्यवस्था परिवर्तनदेखि पहिचानको मुद्धासम्म अनि संविधान जारी गर्ने अवस्थासम्म अग्रजहरुले गरेको योगदान र बलिदानलाई सम्मान गर्नैपर्छ । त्योसँगै मुलुकमा विकास प्रयाप्त भएको छैन होला तर आधारहरु कोरिएका छन् । अग्रजहरुले व्यवस्था परिवर्तनसँगै अब अवस्था परिवर्तनका लागि युवाहरुलाई अघि सारेको अवस्था छ । यस्तो अवस्थामा हाम्रा अग्रजहरुले केही पनि गरेनन् भनेर गरिने गाली उचित होइन कि भन्ने लाग्छ ।
अवस्था परिवर्तनको बाटोमा हिँडिरहँदा हामी फरक ढंगले अघि बढ्नुपर्छ भन्ने लाग्छ । फरक ढंगले अघि बढ्दा हामीले कसैलाई गाली नगरि पनि बढ्न सक्छौँ । गालीगलौज गरेर टिकाटिप्पणी गरेर कुनै पनि देश बनेको होइन । यो बलिदानीबाट आएको व्यवस्था हो । यस्तो व्यवस्थामा सहकार्य गरेर नै अघि बढ्नुपर्छ भन्ने लाग्छ ।
धेरै भारहरु छन् हाम्रो काँधमा । त्यसैले हामीले धेरै भाष्यहरुलाई चिर्दै अघि बढ्नुपर्ने छ । राजनीति फोहोरी खेलको हो भन्ने भाष्यः सबै भन्दा पहिला यो चिर्न आवश्यक छ । राजनीति कहिल्यै फोहोरी हुँदैन । राजनीतिले सकारात्मक परिवर्तन ल्याउँछ । आर्थिक समृद्धि ल्याउँछ अनि सुशासन ल्याउँछ । फोहोरी त राजनीतिमा स्वार्थ वोकेका व्यक्ति छिरे भने मात्रै राजनीति फोहोरी हुने हो ।
दोस्रो, विदेश पलाएनले समाजलाई नै डिप्रेशनमा लैजाने भाष्यः यो देशमा कुनै पनि भविष्य छैन । युवाका लागि केही पनि छैन भनेर नकारात्मक भाष्य सिर्जना गर्ने काम भैरहेको छ । त्यो पनि चिर्न जरुरी छ । अहिलेसम्म चीन, जापान, भारत, कोरिया, अमेरिकाले यस्तै नकारात्मक सोँच राखेर अघि बढेको भए यो खालको विकाश संभव थिएन होला ? हामीले अब यो भाष्य चिर्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ । हामी युवाले अध्याँरोमा पनि उज्यालो खोज्नुपर्छ । त्यो दायित्व हामीले पूरा गर्नुपर्छ ।
तेस्रो, बुढाखाडाले काम गर्दैनन् युवा आउनुपर्छ भन्ने र युवाले केही गर्न सक्दैनन् । देश जिम्मा लगायो भने खाडलमा हाल्छन् भन्ने भाष्यः यी दुबै भाष्यलाई चिर्न गर्न आवश्यक छ । अग्रजहरुको अनुभव र युवाको उर्जाले अहिलेको समृद्ध नेपालको परिकल्पना गर्न सक्छौँ । त्यसलाई हामीले चिरेर अघि बढ्नुपर्छ ।
चौथो, अरे नि ! भन्ने शब्दः अरे नि ! भन्ने शब्द सुन्दा रमाइलो लाग्छ । त्यसलाई हाम्रो शब्दकोषबाट हामीले हटाउनुपर्छ भन्ने लाग्छ । अहिले सामाजिक सञ्जालको समाना छ । सूचना,प्रविधिको जमाना छ । यस्तो युगमा युवाले तथ्यमा बोल्नुपर्छ भन्ने लाग्छ । यो पार्टीले त यस्तो गर्यो अरे नि !, यो मान्छेले यस्तो गर्याृे अरे नि ! भन्दै त्यो भ्रम सिर्जना गर्ने काम भएको छ । त्यो भ्रामक सूचनाले हामीलाई गन्तव्यमा जान नदिन ठूलो खाडल बनाइदिन्छ । त्यसैलृे भ्रामक सूचनाबाट टाढा रहेर सामाजिक सद्भावलाई कायम राख्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ ।