कान्तिपुरका पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौ, ८ जेठ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

उनलाई प्रहरीको टोलीले मंगलबार थापाथलीबाट पक्राउ गरेको हो ।

सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए ।

पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।

यसैबीच सिरोहियाले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र दर्ता प्रक्रियामा रहेको सर्वोच्चका सह प्रवक्ता गोविन्द घिमिरेले बताए ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो ।