प्रतिनिधिसभाको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव पारित

काठमाडौँ, २४ जेठ । प्रतिनिधिसभाको आजको बैठकले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आजकाे बैठकमा प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभाको बहुमतले पारित गरेको हो ।

प्रस्तावमाथिको छलफलमा सांसदहरु रघुजी पन्त, माधव सापकोटा, जुली महतो, लालप्रसाद सावा लिम्बू, अमरबहादुर थापा, देवेन्द्र पौडेल, प्रेम सुवाल, ध्रुवबहादुर प्रधान, राजेन्द्र केसी, नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले उक्त हस्ताक्षर गर्दा राष्ट्रिय हितलाई ध्यान दिइएको स्पष्ट पार्नुभयो । उहाँले सम्झौता आर्थिक, प्राविधिक हस्तान्तरण र स्वच्छ ऊर्जाका दृष्टिलेसमेत राष्ट्रिय हितमा रहेको जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतले नेपालको सन्दर्भमा वर्षायाममा जलविद्युत् धेरै उत्पादन हुने र सुख्खा याममा अपर्याप्त हुने भएकाले यस्तो अन्तर कम गर्न पनि सम्झौता आवश्यक रहेको औँल्याउनुभयो । जलविद्युत्सँगै सौर्य र वायु ऊर्जाको उपयोग गर्न पनि ऊर्जा ‘मिक्स’ गर्नुपर्ने उहाँको भनाइ छ । सुख्खा याममा ऊर्जा आयात गर्नुपर्ने बाध्यता अन्त गर्न पनि सम्झौता उपयोगी हुने मन्त्री बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *