त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ

काठमाडाैं, २७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

विमानस्थलबाट भन्सार छलेर लैजान लागेको सुनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हाे ।

कतार एयरको उडानबाट आएका मोरङ केराबारी गाउँपालिका-९ का ३१ वर्षीय सरोज कोइराला र रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाम आलमलाई शनिबार राति पक्राउ गरेको हो।

उनीहरूलाई २५ ग्रामको सिक्री र ६९ ग्राम ९९ मिलिग्रामको काँचो सुनको डल्लोसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ । उनीहरूलाई विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट पक्राउ गरेको थियो।

त्यस्तै, शनिबार दिउँसो प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्‍गा नगरपालिका-५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका-६ बस्ने ३७ वर्षीय ज्याउदिन मिँया छन्।

उनीहरूबाट करिब ५० ग्राम सुनको सिक्री बरामद भएको थियो। ज्याउदिन कतार एयरको उडान दोहाबाट नेपाल आएका थिए । ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएकाे छ ।