विपद्बाट नागरिक जोगाउने पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, ४ असार । सांसदहरुले प्रतिनिसभाको आजको बैठकमा मनसुनलगायतका विपद्बाट आम नागरिकलाई जोगाउनका लागि पूर्वतयारी, उद्धार तथा राहतको विशेष प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले मनसुन सुरु भएकाले पूर्वतयारीसँगै आवश्यक अन्य प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद देवेन्द्र पौडेलले केही वर्ष पहिले बागलुङको भुजीखोला क्षेत्रमा बाढीपहिरोका कारण प्रभावित भएका नागरिकले हालसम्म पनि राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बद्रीप्रसाद पाण्डेले यसवर्ष अधिकभन्दा बढी वर्षा हुने प्रक्षेपण आएकाले विपद्विरुद्ध जुध्न सरकारको तयारी कमजोर रहेको उल्लेख गर्नुभयो ।

सांसद विनिता कठायतले देशभित्र मनसुन भित्रिइसकेको अवस्थामा कर्णाली प्रदेशका विकट क्षेत्रका जनधनको सुरक्षाका लागि सरकारको तर्फबाट के कस्तो तयारी भइरहेको छ ? भन्ने जिज्ञासा राख्नुभयो ।

सांसद धवलशमशेर राणाले लक्ष्मणपुर बाँधका कारण बर्सेनि नागरिक प्रभावित भएको उल्लेख गर्दै वर्षायाममा बाँध खुलै राख्ने व्यवस्थाका लागि कूटनीतिक पहल गर्न माग गर्नुभयो ।

सांसद तोसिमा कार्कीले असार लागेपछि कालोपत्रमाथि कालोपत्र थप्ने क्रम सहरी क्षेत्रमा बढेपनि डोटी, डडेल्धुरालगायतका जिल्लाका विभिन्न आयोजना अलपत्र परेका विषयमा सरकारको ध्यानाकार्षण गराउनुभयो । सांसद दीपकबहादुर सिंहले बजेट विनियोजन असमान रहेको गुनासो गर्नुभयो । सांसद दीपा शर्माले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला–टिङ्कर नाका खुला भएकामा सरकारलाई धन्यवाद दिँदै मानसरोवर पुग्नेहरुको सहजीकरणका लागि अध्यागमन कार्यालय स्थापनाको माग गर्नुभयो ।

सांसद नागिना यादवले मनसुन सुरु भइसकेकाले विपद्बाट जोगाउनका लागि पूर्वतयारीको प्रबन्ध के–कसो भइरहेको छ भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणप्रसाद आचार्यले पाल्पामा खानेपानी आयोजना अलपत्र रहेको भए पनि बजेट विनियोजनामा सरकारले ध्यान दिन नसकेको बताउनुभयो । सांसद नारायणी शर्माले खेतीपातीको याम सुरु भइसकेकाले रासायनिक मलको उचित प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद प्रेम सुवालले अखाद्य आँपको बिक्री वितरण भइरहेकाले त्यसको नियन्त्रण गर्न माग गर्नुभयो । सांसद विमला सुवेदीले फोहर व्यवस्थापनका लागि यथेष्ट बजेट विनियोजन नभएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसदहरु तेजुलाल चौधरी, दिक्पालकुमार शाही, दुर्गा राई, प्रतिमा गौतम, प्रभु हजारा, वासुदेव घिमिरे, बिनादेवी, दामोदर पौडेललगायतले समसामयिक राजनीतिक विषय र स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।