बनेको राष्ट्रिय परिचयपत्र पनि लाँदैनन् नागरिक

भोजपुर, १२ असार । सरकारले हरेक प्रकारका सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिँदा भोजपुरमा भने बनेको परिचयपत्र लिन आउनेको सङ्ख्या न्यून छ ।
भोजपुरमा एक लाख भन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि फोटोसहितको विवरण सङ्कलन गराइसकेका छन् । यहाँ विसं २०७७ साउन १७ गतेबाट पहिलोपटक राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको थियो । सोअनुरुप वडा तहमा सञ्चालन गरिएको अभियानमा ७१ हजार एक सय ९३ जनाको विवरण सङ्कलन भएको थियो ।
जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र पञ्जीकरण शाखाका अपरेटर किरण नेपालीले अभियानबाहेक कार्यालयमा आएर ३० हजार एक सय चार जनाले विवरण सङ्कलन गराएको जानकारी दिनुभयो । जम्मा एक लाख एक हजार दुई सय ९७ जनाको विवरण सङ्कलन भइसकेको छ ।
सङ्कलित विवरणमध्ये हालसम्म जिल्ला प्रशासन कार्यालयमा ११ हजार सात सय ७१ थान राष्ट्रिय परिचयपत्र छपाइ भएर आएको छ । जसमध्ये छ सय २५ जनाले मात्र परिचयपत्र बुझेका छन् । बनेको कार्ड लिन नागरिक नआउँदा परिचयपत्र वितरण हुन सकेको छैन ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विसं २०८० असोज २ गते भोजपुर नगरपालिका–१०, जिमिगाउँका समाजसेवी बलिमान राईलाई जिल्लाको पहिलो राष्ट्रिय परिचयपत्र वितरण गर्नुभएको थियो । परिचयपत्र क्रमिकरुपमा वितरण गरिने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । विवरण सङ्कलन भएको लामो समयसम्म धेरै परिचयपत्र छपाइ भएर आएको छैन ।
परिचयपत्रका लागि हस्ताक्षर, १० औँलाको औँठा छाप, आँखाको रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधिकारीकरुपमा सङ्कलन गरी परिचयपत्र नम्बर प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।