रङ्गशालाभित्र राजनीति नगर्न फ्रान्सेली फुटबल महासङ्घको अपिल

पेरिस । फ्रान्समा विद्यार्थीहरूले गरिरहेको देशव्यापी प्रदर्शनका बीच फ्रान्सेली फुटबल महासङ्घ (FFF) को नैतिक आयोगले समर्थकहरूलाई रङ्गशालाभित्र कुनै पनि किसिमको राजनीतिक अभिव्यक्ति नदिन अपिल गरेको छ। विद्यार्थी आन्दोलनप्रति फुटबल फ्यानहरूले रङ्गशालाभित्रै समर्थन जनाउन थालेपछि नियमनकारी निकायले यस्तो आग्रह गरेको हो।

हाल फ्रान्समा शान्तिपूर्ण रूपमा सुरु भएको विद्यार्थी आन्दोलनमाथि प्रहरीले व्यापक बल प्रयोग र दमन गरेको आरोप लागेको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले टियर ग्याँस र लाठीचार्जको अत्यधिक प्रयोग गरेको छ। हालसम्म ६,६०० भन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परिसकेका छन्, जुन फ्रान्सको आन्दोलनको इतिहासमा निकै ठूलो सङ्ख्या हो।

प्रहरीको कारबाहीका क्रममा टियर ग्याँसको ग्रेनेड लागेर १४ वर्षीय एक किशोरको बंगारा र दाँत भाँचिएको छ भने ‘स्टन ग्रेनेड’  विष्फोट हुँदा १५ वर्षीय अर्का किशोरले हात गुमाउनुपरेको छ। प्रहरीको आधुनिक हतियारका कारण धेरै युवाहरू गम्भीर घाइते भएका छन्।

रङ्गशालामा प्रदर्शन र ब्यानर

प्रहरी दमनको विरोधमा फुटबल समर्थकहरूले खेलका क्रममा रङ्गशालाभित्रै ब्यानर प्रदर्शन गर्न थालेका छन्। ‘नेसनल काउन्सिल फर फुटबल एथिक्स’ (CNE) का अनुसार लेन्स (Lens) र ल्योन (Lyon) बीचको लिग १ खेलका क्रममा घरेलु समर्थकहरूले प्रहरीको “अत्यधिक र सुनियोजित हिंसा” अन्त्य गर्न माग गर्दै ठूलो ब्यानर टाँगेका थिए।

त्यसैगरी, पीएसजी (PSG) र ले मान्स (Le Mans) बीचको खेलका क्रममा पनि समर्थकहरूले “तपाईँका रक्षकहरू दमन गर्छन्, हाम्रा युवाहरू प्रतिरोध गर्छन्” लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।

“खेलकुदले जोड्नुपर्छ, विभाजन गर्नुहुँदैन”

नैतिक आयोगले युवा र विद्यार्थी समर्थकहरूले आफ्ना साथीहरूप्रति सहानुभूति देखाउन रङ्गशालालाई मञ्च बनाएको बुझ्न सकिने भए पनि राजनीतिक तटस्थता खेलकुदको सर्वमान्य सिद्धान्त भएको स्मरण गराएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक बडापत्र, फिफाको विधान र राष्ट्रिय खेलकुद कानुनअनुसार रङ्गशालाभित्र राजनीतिक, धार्मिक वा ट्रेड युनियनसँग सम्बन्धित कुनै पनि प्रचार-प्रसार वा ब्यानर पूर्ण रूपमा प्रतिबन्धित रहेको महासङ्घले जनाएको छ।

“खेलकुदले समाजलाई जोड्नुपर्छ, विभाजन गर्नुहुँदैन,” सीएनई (CNE) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी सम्पूर्ण समर्थकहरूलाई रङ्गशालालाई राजनीतिक वा आन्दोलनको रणभूमि बनाउनुको साटो विशुद्ध खेलकुदको उत्सव र मनोरञ्जनको थलोका रूपमा कायम राख्न अपिल गर्दछौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *