प्रधानमन्त्री प्रचण्डलाई आजसम्म राजीनामा दिन एमालेको आग्रह

काठमाडौं, १९ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आजसम्म राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

नेकपा एमालेकाे हिजो बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिनुभयाे ।

त्यसैगरी एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन पनि आह्वान गरेको छ।

पार्टी कार्यालय च्यासलमा भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दलहरूलाई आह्वान गरेको हो।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

यसअघि, माओवादी केन्द्रको सचिवालय बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने बरु सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिए संसदमा विश्वासको मत लिने निर्णय गरेको थियो।