ठमेलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडाैं, ३० असार । करिब २० करोड रुपैयाँभन्दा बढीको लागु औषध कोकिनसहित ठमेलबाट एक मलेसियन महिला पक्राउ परेकी छन् ।

ठमेलस्थित काठमाडौँ सिटी होटलबाट मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालुलाई प्रहरीले लागु औषध कोकिनसहित पक्राउ गरेकाे हाे ।

होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

कोठाको खान तलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्राम कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाई छ ।