नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिनुहुँदै
काठमाडौँ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।
नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन भएको हो ।
असार २८ गते पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउनुभएपछि उहाँ पद मुक्त हुनुभएकाे थियाे । उक्त दिन अध्यक्ष ओलीले कांग्रेस लगायत दलको समर्थनमा दाबी पेश गर्नुभएकाे थियाे ।