सिमलताल पहिरोमा बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली
चितवन, ६ साउन । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएर बेपत्ता बनाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ ।
भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको हाे ।
असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।
बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिएभने ६२ जना बेपत्ता भएका थिए ।
आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ ।
मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली नेपाल आएको हो ।