नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राख्नु हुने प्रस्तावको पक्षमा नेपाली कांग्रेस संसदीय दलले मतदान गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्नु हुनेछ । बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकारका प्रधानमन्त्रीलगायत मन्त्रिमण्डललाई बधाई ज्ञापन गर्ने निर्णय गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।