काठमाडौँमा छठ घाटको माग बढ्दो, गुह्येश्वरी क्षेत्रमा यस वर्ष ६०० घाट

काठमाडौँ, कात्तिक २७ । राजधानी काठमाडौँमा प्रत्येक वर्ष छठ बर्तालुको सङ्ख्या बढ्दै गएको छ। भगवान् सूर्यदेव र नदीको श्रद्धापूर्वक पूजा गरिने छठ पर्वका लागि बर्तालु राजधानीका घाटमा स्थान खोज्न व्यस्त छन्। राजधानीमा करिब डेढ दर्जन स्थानमा भव्य रूपमा छठ मनाइँदै आएको छ।

छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटदेखि गुह्येश्वरीसम्मको वाग्मती किनारमा यस वर्ष ६०० छठ घाटको व्यवस्था गरिएको छ। गत वर्ष ५५० घाट निर्माण गरिएकोमा माग धान्न नसकेपछि यसपालि करिब ५० घाट थपिएको हो। निर्माण गरिएका सबै घाट भाइटीकाअघि नै ‘बुक’ भइसकेको र अहिले पनि थप माग आइरहेको उनले जानकारी दिए। गत वर्ष गुह्येश्वरी मन्दिरअघिसम्म मात्र घाट बनाइएको थियो।

दुई दशकअघिसम्म राजधानीमा मधेसी समुदायले मात्र छठ मनाउने गरेकामा अहिले अन्य समुदायको सहभागिता बढ्दै गएको छ। समितिको अभिलेखअनुसार छठ मनाउनेमध्ये करिब २१ प्रतिशत मधेसी समुदायबाहेकका छन्। पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेकाले यो धार्मिक सहिष्णुताको प्रतीक पनि बनेको छ।

आजदेखि सुरु भयो व्रत विधि
कात्तिक शुक्ल चतुर्थीका दिन आजदेखि बर्तालुले स्नान गरी चोखो खाने गर्छन्, जसलाई अरबा भनिन्छ। छठ नसकिएसम्म माछा, मासु, लसुन, कोदो, फापर र मुसुरो नखाने विधि छ। पञ्चमीमा निर्जल उपवास बसी साँझ खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाइन्छ, जसलाई खरना भनिन्छ। षष्ठीका दिन ठेकुवा, फलफूल र मिठाई बाँसको टोकरीमा सजाएर नदीकिनारमा लगी डुब्न लागेका सूर्यलाई अर्घ्य दिइन्छ। सप्तमीमा बिहान उदाउँदो सूर्यलाई दूध, फूल र जलले अर्घ्य दिएपछि पर्व समापन हुन्छ।

छठ पूजा समितिका उपाध्यक्ष राजकुमार पोद्दारका अनुसार सन्तान प्राप्तिको कामनाले व्रत गर्नेहरू सबैभन्दा बढी छन्, त्यसपछि छालासम्बन्धी रोगबाट मुक्तिको कामना गर्नेको स्थान आउँछ।

विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको यो पर्वमा सरकारले त्यही वर्षदेखि सार्वजनिक बिदा दिँदै आएको छ। गुह्येश्वरीमा वाग्मती नदीको सफाइ गरी बालुवा र माटो सम्याउने काम अधिकार सम्पन्न वाग्मती समितिले सम्पन्न गरेको छ। कमलपोखरीमा पनि घाट निर्माण भइरहेको समितिका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए।

कात्तिक २९ गते आइतबार बेलुकी दुवै स्थानमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पर्वको शुभारम्भ गर्ने कार्यक्रम छ। कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिने पर्व समापन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *