ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ : सभापति देउवा

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतीको बाटो समात्ने बताउनुभएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘सम्माननीय प्रधानमन्त्री ओलीजी अत्यन्त मिहिनेती अध्ययनशील र अनुभवी हुनुहुन्छ, उहाँको मन्त्रिपरिषदमा रहेका साथीहरु योग्य र सक्षम हुनुहुन्छ । उहाँहरुको नेतृत्वमा मुलुकले उन्नतीको बाटो समात्नेछ भन्ने विश्वास लिएको छु ।

मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको उहाँले बताउनुभयाे ।

राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै उहाँले भन्नुभयाे, ‘असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनप्रति कांग्रेस दृढ छ र रहिरहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु । साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा विश्वस्त छु’ ।