बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त

बागमती, ८ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय तोकर दाबी पेस गर्न आह्वान गर्नुभएकाे थियाे ।

नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम भोलि बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।