प्रधानमन्त्री ओलीकाे ‘नमेटिने घाउ’ फिल्मकाे पोस्टर सार्वजनिक
काठमाडौं, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीकाे ‘नमेटिने घाउ’ फिल्मकाे पोस्टर सार्वजनिक भएकाे छ । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को पोस्टर साेमबार सार्वजनिक गरिएकाे हाे ।
फिल्म ‘नमेटिने घाउ’ आउँदाे भदौ ७ गते प्रदर्शन गरिने मिति घोषणा गरेका छन् । पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे ठूलै फाेटाे छापिएकाे छ । यो फिल्ममा ओलीले प्रधानमन्त्रीकै रोलमा अतिथि भूमिका गर्नुभएकाे जनाइएकाे छ ।
पोस्टरमा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड सर्भाइभरहरुलाई पनि देख्न सकिन्छ । सत्य घटनामा आधारित रहेको भनिएको यो फिल्ममा वास्तविक एसिड आक्रमणको घटनाका पीडितले समेत अभिनय गरेका छन् ।
फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि अतिथि भूमिका रहेकाे छ । यो फिल्म एसिड सर्भाइभरको वास्तविक जीवनीमा आधारित छ । आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर फिल्म बनाइएको छ । फिल्मकाे पटकथा शिवम अधिकारीले लेखेका हुन् ।
फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय छ ।
रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।