कार्यवाहक प्रमुख डंगोलको परिकल्पना ले आकार लियो : काठमाडौँ फ्लिम फेस्टिभलको उत्साह थपियो
काठमाडौँ फिल्म फेस्टिभल
काठमाडौँ, असोज २३ । काठमाडौँको मौलिक कला, संस्कृति, सम्पदा र स्थानीय सिर्जनालाई चलचित्रका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले अघि बढाएको ‘काठमाडौँ फिल्म फेस्टिभल’ अन्तर्गत ‘युथ भिडियो च्यालेञ्ज’ र ‘नेपाल पानोरमा’ का लागि २२ वटा भिडियो छनोट भएका छन्।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको परिकल्पना तथा नेतृत्वमा अघि बढाइएको यस पहलले काठमाडौँका ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक कथालाई चलचित्रमार्फत उजागर गर्दै स्थानीय सिर्जनशीलता र रचनात्मक उद्योगको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। छनोट भएका भिडियोसहित १० देशका ४० वटाभन्दा बढी चलचित्र आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने फिल्म फेस्टिभलमा प्रदर्शन गरिनेछन्।
महानगरपालिकाले शुक्रबार नेपाल पर्यटन बोर्डमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी छनोटको नतिजा सार्वजनिक गरेको हो। ‘युथ भिडियो च्यालेञ्ज’ अन्तर्गत पाँच मिनेटसम्मका १२ वटा र ‘नेपाल पानोरमा’ अन्तर्गत ३० मिनेटसम्मका १० वटा भिडियो छनोट भएका छन्। ४० वर्षसम्मका युवालाई लक्षित गरी ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा आह्वान गरिएको युथ भिडियो च्यालेञ्जमा ३५ वटा भिडियो प्राप्त भएका थिए। त्यस्तै, खुला प्रतिस्पर्धाअन्तर्गत वृत्तचित्र, कथानक, एनिमेसन र प्रयोगात्मक विधाका ७५ वटा भिडियो प्राप्त भएका थिए।
नतिजा सार्वजनिक गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँका गल्ली, टोल, बहाल, बहिल र स्मारकसँग जोडिएका अनेकौँ प्राचीन, सामाजिक तथा सांस्कृतिक कथा अझै अभिलेखीकरण र प्रचारप्रसारको पर्खाइमा रहेको बताउनुभयो। सहरको मौलिक पहिचानलाई चलचित्रका माध्यमबाट उजागर गर्ने उद्देश्यले फिल्म फेस्टिभलको अवधारणा अघि सारिएको उहाँको भनाइ थियो।
“काठमाडौँमा मौलिक खानाका परिकार, पोसाक, भाषा, साहित्य, कला र सिर्जनाका थुप्रै विशेषता छन्। चलचित्रमार्फत यस्ता विशेषताको प्रवर्द्धन गर्ने, स्थानीय कलाकारका सिर्जनालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने र अन्तर्राष्ट्रिय कलाकारलाई महानगरका बस्ती तथा टोलसम्म ल्याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो,” डंगोलले भन्नुभयो।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार ‘नेपाल पानोरमा’ विधामा सुरज पौडेलको ‘रिहाना’, सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मरिछा’ छनोट भएका छन्।
त्यस्तै, ‘युथ भिडियो च्यालेञ्ज’ मा राज दोङको ‘सिग्रेट’, शैलेश हमालको ‘ह्याप्पिनेस’, धृतिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा : द बिगेस्ट फेस्टिभल अफ काठमाडौँ’, सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ बुढाथोकीको ‘बिहाइन्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याट टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठी’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ छनोट भएका छन्।
नेपाल पानोरमाका लागि चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डीसी, चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी, निर्माता तथा पटकथा लेखक सम्पदा मल्ल र फिल्म क्रिटिक्स सोसाइटी अफ नेपालका लेखक तथा पत्रकार सामीप्यराज तिमिल्सिना निर्णायक रहनुभएको थियो। युथ भिडियो च्यालेञ्जका निर्णायकमा चलचित्रकर्मी तथा निर्माता अनिल योञ्जन, नाट्य कलाकार तथा पत्रकार बैकुण्ठ भण्डारी, चलचित्रकर्मी तथा प्रशिक्षक प्रसुना डंगोल, युनेस्कोका सञ्चार विज्ञ रबिन राई तथा सहरी योजनाकार एवं सम्पदा संरक्षणकर्मी रीजा जोशी रहनुभएको थियो।
छनोट भएका भिडियो कात्तिक १५ गते राष्ट्रिय सभागृहमा प्रदर्शन गरिनेछ। युथ भिडियो च्यालेञ्जमा प्रथम हुनेलाई एक लाख ५० हजार, द्वितीयलाई एक लाख र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। नेपाल पानोरमा विधामा छनोट भएका चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले काठमाडौँको मौलिकतालाई विश्वस्तरमा स्थापित गर्न फिल्म फेस्टिभल महत्त्वपूर्ण माध्यम बन्ने बताउनुभयो। उहाँले यसलाई काठमाडौँको गरिमा अन्तर्राष्ट्रियस्तरमा बढाउने दीर्घकालीन यात्राको सुरुआतका रूपमा व्याख्या गर्नुभयो।
फेस्टिभलअन्तर्गत अन्तर्राष्ट्रिय पानोरमामा चीन, भारत, अस्ट्रेलिया, फ्रान्स, कोरिया, सिङ्गापुरलगायत देशका चलचित्र प्रदर्शन गरिनेछन्। फ्रान्सिस फोर्ड कोपोलाको ‘द गडफादर’ लगायत अन्तर्राष्ट्रिय चलचित्रका साथै जापानको यामागाता सहरबाट आएका लघु चलचित्रसमेत प्रदर्शन गरिने कार्यक्रम छ। नेपाली पुराना चलचित्रको सम्मानमा ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दुर’ विशेष प्रदर्शनमा समावेश गरिएका छन्।
फेस्टिभलका कार्यक्रम कात्तिक १३, १४ र १५ गते सञ्चालन हुनेछन्। सांस्कृतिक प्रस्तुतिसहितको सम्पदा पदयात्रा, खुला स्थानमा चलचित्र प्रदर्शन, रेड कार्पेट कार्यक्रम, चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण यसका प्रमुख आकर्षण रहनेछन्। यसअघि कात्तिक ८ गते वसन्तपुरदेखि हाँडीगाउँ र पशुपति क्षेत्र हुँदै पुनः वसन्तपुरसम्म सम्पदा दौड आयोजना गर्ने कार्यक्रम छ।
काठमाडौँ युनेस्को रचनात्मक सहर सञ्जालको सदस्य नगर हो। महानगरपालिकाले चलचित्रलाई समुदाय, शिक्षा, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडेर रचनात्मक उद्योगको विकास गर्ने नीति अघि बढाएको छ। यसैको निरन्तरताका रूपमा ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रममार्फत स्थानीय समुदायमा चलचित्र हेर्ने संस्कार विकास गर्ने तथा स्थानीय क्लब र सङ्घसंस्थाको क्षमता अभिवृद्धि गर्ने कामसमेत हुँदै आएको छ ।
महानगरपालिकाको अपेक्षामा फिल्म फेस्टिभल मनोरञ्जनमा सीमित रहने छैन । यसले स्थानीय कलाकार तथा चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने, नयाँ पुस्तामा सिर्जनशीलता बढाउने, चलचित्रमार्फत शिक्षा तथा सामाजिक सन्देश प्रवाह गर्ने र स्थानीय उत्पादन तथा सेवासँग सम्बन्धित आर्थिक गतिविधि विस्तार गर्ने माध्यमका रूपमा काम गर्नेछ। कार्यवाहक प्रमुख डंगोलको परिकल्पनामा अघि बढेको यो पहलले काठमाडौँको मौलिक पहिचानलाई विश्वमाझ पुर्याउँदै सहरको सांस्कृतिक गौरव र रचनात्मक अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।
