काठमाडौँ फिल्म फेस्टिभल कात्तिक १३ देखि, ४० चलचित्र प्रदर्शन गरिने
काठमाडौँ फिल्म फेस्टिभल
काठमाडौँ, कात्तिक ३ । काठमाडौँ महानगरपालिकाको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने काठमाडौँ फिल्म फेस्टिभल २०८३ का लागि विभिन्न साझेदार संस्थासँग सहकार्य गरिएको छ । चलचित्र प्रदर्शन, यातायात, डिजिटल टिकट, अन्तर्राष्ट्रिय सम्बन्ध, आतिथ्यता तथा कार्यक्रम व्यवस्थापनलगायतका क्षेत्रमा साझेदारी गरिएको महानगरपालिकाले जनाएको छ ।
फेस्टिभलमा चलचित्र प्रदर्शन साझेदारका रूपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायात व्यवस्थापनका लागि अग्नि ग्रुप र इनड्राइभसँग सहकार्य गरिएको छ । अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँग सम्बन्ध विस्तार गर्न नेपालस्थित अमेरिकी तथा अस्ट्रेलियाली दूतावास, युनेस्को र अलायन्स फ्रान्सेजसँग सहकार्य गरिएको छ । डिजिटल टिकटिङ साझेदारका रूपमा हिमालय पेसँग सम्झौता भएको छ ।
फेस्टिभलका कार्यक्रम वसन्तपुर, राष्ट्रिय सभागृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा र तारागाउँ नेक्स्ट म्युजियममा सञ्चालन हुनेछन् । कार्यक्रमस्थल व्यवस्थापनका लागि हनुमानढोका दरबार संग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य गरिएको छ । यसैगरी सम्पदा दौडका लागि एनएसआर स्पोर्ट्स फाउन्डेसन (काठमाडौँ म्याराथन), आतिथ्यताका लागि होटल एसोसिएसन नेपाल र नेपाल पर्वतारोही संघ तथा कार्यक्रम व्यवस्थापनका लागि माब्रिक्स र आईएसएससँग सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ ।
फेस्टिभलको उद्घाटन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रासहित हुनेछ । उद्घाटनका अवसरमा भिडियो च्यालेञ्जबाट छनोट भएको एउटा लघु चलचित्र र पुरानो नेपाली चलचित्र ‘सिन्दुर’ खुला रूपमा प्रदर्शन गरिनेछ । जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकमा हुने उक्त प्रदर्शनमा सर्वसाधारणलाई सहभागी हुन महानगरपालिकाले आह्वान गरेको छ ।
फेस्टिभल अवधिमा सर्ट फिल्म भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले आयोजना गरेको ‘युथ भिडियो च्यालेञ्ज’ का विजेतालाई अवार्ड तथा नेपाल पानोरामाबाट छनोट भएका चलचित्रलाई प्रोत्साहन पुरस्कार प्रदान गरिने कार्यक्रम छ । नेपाल पर्यटन बोर्डमा चलचित्रसम्बन्धी मास्टर क्लास र अन्तरक्रियात्मक संवादसमेत सञ्चालन गरिनेछ ।
नेपाली चलचित्र क्षेत्रको सम्मानमा फेस्टिभलको दोस्रो दिन राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम आयोजना हुनेछ । यसअघि कात्तिक ८ गते वसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्र हुँदै पुनः वसन्तपुरसम्म सम्पदा दौड आयोजना गर्ने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जालको सदस्य सहर हो । चलचित्र विधालाई समुदाय र शिक्षासँग जोड्दै रचनात्मक उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो । स्थानीय मौलिकता र पहिचानको संरक्षण गर्दै चलचित्र क्षेत्रका पेसाकर्मी, सङ्घसंस्था, विज्ञ तथा महोत्सव आयोजकलाई स्थानीय रचनात्मक उद्योगसँग जोड्ने प्रयास भइरहेको महानगरपालिकाको भनाइ छ ।
महानगरपालिकाका अनुसार यसअघि पहिलो संस्करणअन्तर्गत ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रम सम्पन्न भइसकेको छ । काठमाडौँ फिल्म फेस्टिभलअन्तर्गत ‘इलिफेन्ट्स इन द फग’ चलचित्रको विशेष प्रदर्शनपछि चलचित्रको टोली र फिल्म अध्ययनरत विद्यार्थीबीच अन्तरक्रियासमेत गरिएको थियो ।
रचनात्मक उद्योगका साझेदार, पेसाकर्मी तथा विज्ञसँगको सहकार्यमा आयोजना हुने फेस्टिभलले चलचित्र क्षेत्रको विकास र नवप्रवर्तनमा योगदान पुर्याउने महानगरपालिकाको अपेक्षा छ । यसबाट स्थानीय अर्थतन्त्रको विकाससँगै विद्यार्थी, समुदाय र पेसाकर्मीमा चलचित्रप्रतिको रुचि अभिवृद्धि हुने तथा चलचित्रका माध्यमबाट शिक्षा, सूचना र सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास महानगरपालिकाले लिएको छ ।
